घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लाका समुदाय स्तरमा पनि डेंगु फैलिन थालेको पाईएको छ । हाल सम्म ३३ जनामा डेंगुको सँक्रमण पुष्टि भईसकेको छ । समुदाय स्तरमा तिब्र रुपमा डेंगुको सँक्रमण फैलिन थालेपछि साबधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन ।
जिल्ला अस्पतालका डाक्टर सोहन शाहका अनुसार कडा खालको ज्वरो आउने, हड्डीका जोर्नीहरू दुख्ने, टाउको दुख्ने, आँखाका गेडीहरू दुख्ने, सामान्यतया बान्ता हुने, शरीर दुख्ने डेंगु रोगका मुख्य लक्षण हुन् । यदि कसैमा यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर उपचार गराउन जानु पर्दछ । डेंगु रोगको छुट्टै प्रकारको उपचार पद्धति विकास नभएपनि लक्षणको आधारमा डाक्टरको निगरानीमा उपचार गरे निको हुने स्वास्थ्यकर्मीहरु बताउछन ।
सफा पानीमा बस्ने एडिस एजिप्टाइ र एडिस एल्वीकिक्टस प्रजातिको लामखुट्टेको टोकाइले डेंगुको संक्रमण फैलिने गरेको छ । राति सुत्दा झुलको प्रयोग गर्ने, घर वरपर रहेका पानी जमेका खाल्डाखुल्डी पुर्ने, गमला, गाडीका टायर लगायतका ठाउँमा पानी जम्न नदिने, घर वरपर सफा राखेमा पनि केही हदसम्म डेंगुबाट बच्न सकिने डाक्टर शाहको सुझाव रहेको छ । बिगतका बर्षहरुको तुलनामा यसबर्ष संक्रमितको संख्या धेरै देखिएको छ । बिगतका बर्षहरुमा जिल्ला भरि दुई तीन सँक्रमितहरु भेटिने गरेकोमा यस बर्ष १५ दिनको अबधीमा ३३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वास्थ्य कार्यालय डोटीको तथ्याँक अनुसार जिल्ला अस्पतालमा परीक्षण गर्दा २७ र जिल्ला बाहिर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको थियो । डोटी जिल्लामा भदौ १३ गते पहिलो डेंगु संक्रमित बिरामी फेला परेका थिए ।
डोटी जिल्लामा सबै भन्दा बढी दिपायल सिलगढी नगरपालिकामा ११ जनामा डेंगुको संक्रमण देखिएको छ । यसैगरि जिल्लाको पूर्वीचौकी गाउँपालिकामा ७ जना, शिखर नगरपालिकामा ६, सायल गाउँपालिकामा २ जना र केआई सिंह गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । डेंगुका संक्रमितमध्ये १२ जना पुरुष र १५ जना महिला रहेका छन ।
संक्रमितमध्ये तीन जनामा स्वास्थ्य समस्या देखिएपछि भर्ना गरेर उपचार गरिएको र हाल उनीहरु निको भएर घर गएको जिल्ला अस्पतालले जनाएको छ ।