बुडरका स्थानीय कृषकहरु उन्नत जातको बिऊ उत्पादन तर्फ आकर्षित

घण्टेश्वर अनलाईन
बुडर डोटी
डोटीको जोरायल गाउँ पालिका वडा नंं २ बुडरका स्थानीय कृषकहरु उन्नत जातको बिऊ उत्पादन तर्फ आकर्षित भएका छन ।
जैविक विविधता कृषि सहकारी सँस्था लिमिटेड घण्टेश्वर गैरासँगको समन्वयमा स्थानीय कृषकहरुले मनकामना जातको मकै, गहुँ तथा आलुको बिऊ उत्पादन गर्ने काम भईरहेको स्थानीय अगुवा गँगा मल्लले बताउनु भयो ।
अगुवा कृषक मल्लका अनुसार सहकारी सँस्थाले उन्नत जातका मूल बिऊ ल्याएर स्थानीय कृषक समूहलाई उत्पादनको लागि बितरण गर्ने गर्दछ र कृषकहरुले उत्पादन गरेको मूल बिऊ जैविक विविधता सहकारी सँस्थाले खरिद गर्ने गर्दछन ।
अहिले बुडरका कृषकहरु मनकामना जातको मकैको बिऊ उत्पादन कार्यमा ब्यस्त रहेका छन । गत आर्थिक बर्षमा करिब १३ क्विन्टल मकै उत्पादन भएकोमा यस बर्ष करिब २५ क्विन्टल उन्नत बिऊ उत्पादन हुने अनुमान गरिएको छ ।
स्थानीय कृषकहरुले व्यवसायिक रुपमा बिऊ उत्पादन गर्न थालेपछि स्थानीय कृषकहरुले बिऊको उचित मूल्य पाउनको लागि जिल्ला बाहिर बजारिकरण गर्नु पर्ने माग गरेका छन ।
शनिबार बुडरमा आयोजना गरिएको कृषक दिवसमा सहभागी कृषकहरुले कृषकहरुले ब्यवसायिक रुपमा मकै, गहुँ तथा आलुको बिऊ उत्पादन गरिरहेकाले बजारिकरणको लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताएका छन ।
प्रगतिशिल बिऊ उत्पादन कृषक समूहको आयोजनामा भएको कृषक दिवस कार्यक्रममा बोल्दै स्थानीय कृषक माया मल्लले कृषकहरुले उत्पादन गरेको बिऊको उचित मूल्य पाउनका लागि जिल्ला बाहिर बजार खोज्न सहयोग गर्नु पर्ने बताउनु भयो ।
प्रगतिशिल बिऊ उत्पादन कृषक समूहका अध्यक्ष शारदा मल्लको सभापतित्व तथा जोरायल क्षेत्रकै अगुवा कृषक खडक मल्लको सँचालनमा सम्पन्न समारोहमा बोल्दै जोरायल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष बिरबहादुर दर्लामीले वडा नं. २ का बिभिन्न बस्तीलाई अन्न वाली तथा तरकारी बालीको लागि पकेट क्षेत्र बनाई बिकास गरिने जानकारी दिनु भयो । अध्यक्ष दर्लामीले स्थानीय कृषकहरुलाई उन्नत जातको बिऊ उत्पादन गर्न आह्वान गर्दै त्यसका लागि वडा तथा गाउँ पालिकाले आबश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा जैविक विविधता कृषि सहकारी सँस्थाका अध्यक्ष कबिराम डाँगी, बुडरका अगुवा कृषक कृष्णदत्त भट्टले स्थानीय स्तरमा कृषिका सम्भावनाको वारेमा बोल्नु भएको थियो । कार्यक्रममा समूहका गतिबिधि जानकारी दिईनुका साथै बिविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.