जनप्रतिनिधिले आफु वहाल रहेको स्थानीय तहमा चुनाव प्रचार गर्न नपाउने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
स्थानीय तहका निर्बाचित कार्यपालिकाका पदाधिकारी सदस्यले मँसिर ४ गतेको निर्बाचनमा सम्बन्धित स्थानीय तह स्तरमा प्रचार प्रसार गर्न नपाउने भएका छन ।
कुनै कार्यपालिका सदस्यले कुनैपनि दलको प्रचार प्रसार गरेमा निर्बाचन आचारसँहिता बिपरित हुने भन्दै निर्बाचन आयोगले सबैलाई सचेत गराएको छ ।
निर्बाचन आयोगले असोज २६ गते एक बिज्ञप्ती प्रकाशित गरि स्थानीय तहका कार्यपालिकाका पदाधिकारी सदस्यले सम्बन्धित स्थानीय तहमा कुनै पनि राजनैतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नपाउने तर अन्य स्थानीय तहमा प्रचार प्रसार गर्न जानु परेमा सम्बन्धित स्थानीय तहको साधन श्रोत प्रयोग नगरि निर्बाचन आचारसँहिताको प्रतिकुल नहुने गरि जान सकिने जानकारी गराएको छ ।

कतिपय स्थानीय तहका कार्यपालिकाका पदाधिकारी र सदस्यले निर्वाचन आचारसंहिता विपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाटसमेत देखिएकोले त्यस्तो नगर्न आयोगले ३ बुदेँ निर्देशन पनि दिएको छ ।

जसमा स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा स्पष्टीकरण सोधी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाई निर्देशन दिन भनिएको छ । साथै त्यसको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउन पनि भनिएको छ ।

स्पष्टिकरण प्रक्रिया अघि बढाउन आवश्यकताअनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्न पनि निर्देशन दिएको छ । स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.