बालबालिकालाई कब्जियतको समस्याबाट बचाउन कस्तो खानपान हुनुपर्छ?

काठमाडौं – कब्जियतको समस्याले ठूलो उमेरका व्यक्तिलाई मात्र नभई साना बालबालिकालाई पनि सताउँछ।

एक महिनासम्म दिसा गर्न गाह्रो भए, दिसा गोटा परे, कडा दिसा भए त्यसलाई कब्जियत भनिन्छ। फाइबर र रेसायुक्त खानपानको कमी, जंक तथा फास्टफुडको लतका कारण बालबालिकामा कब्जियतको समस्या देखिने गरेको छ। बालबालिकामा हुने कब्जियतको समस्यालाई सामान्य रुपमा लिन नहुने कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा राजकुमार बिक बताउँछन्।

बालरोग विशेषज्ञ डा बिकसँग हामीले बालबालिकामा हुने कब्जियतको बारेमा थप बुझ्ने प्रयास गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

बालबालिकाहरुलाई हुने कब्जियत कस्तो समस्या हो ?
– कम्तीमा एक महिनासम्म दिसा गर्न गाह्रो हुने, शौचालयमा धेरै समय लगाउने समस्यालाई कब्जियत भन्छि।
– दिसा साह्रो हुने, गोटा पर्ने, कडा दिसा गर्ने, दिसा गर्दा मलद्धार दुख्ने, आन्द्रामा दिसा अड्किरहने समस्या पनि कब्जियत हो।

llc

कब्जियतको समस्याले कुन उमेरका बालबालिकालाई बढी सताउँछ ?
– प्रायजसो ६ महिनापछि ठोस खानेकुरा खुवाउन सुरु गरेपछि कब्जियतको समस्या देखिन थाल्छ।
– दुई वर्ष कटिसकेका र विद्यालय जाने उमेर समूहका बालबालिकाहरुमा कब्जियतको समस्या बढी देखिन्छ।

यी बालबालिकाहरुमा कब्जियतको समस्या किन देखिन्छ ?
– ९० देखि ९५ प्रतिशत बालबालिकामा कब्जियत हुनुको ठोस कारण देखिदैन।
– बाँकी पाँचदेखि १० प्रतिशत बालबालिकामा जंकफुड, तयारी र प्रशोधित खानेकुराका कारण कब्जियत हुने गरेको देखिन्छ।
– फाइबरयुक्त खानेकुराको कमी, गाईको दूध, दूधबाट बनेका खानेकुराको अत्यधिक सेवनले पनि कब्जियत हुने गरेको पाइएको छ।
– मोबाइलमा धेरै लत हुँदा दिसा रोक्ने बानीका कारण पनि कब्जितको समस्या देखिन सक्छ।
– थाइराइडको समस्या, क्याल्सियमको कमी, मेरुदण्डको समस्या, वंशाणुगत कारण पनि कब्जितको समस्या हुन सक्छ।

बालबालिकालाई कब्जियतको समस्याबाट बचाउन कस्तो खानपान हुनुपर्छ ?
– जंकफूड र फास्टफूडले कब्जियत गराउने हुँदा यी खानेकुरालाई बन्द गर्नुपर्छ।
– खानेकुरामा फाइबरयुक्त फलफूल, सागसब्जीको मात्रा बढाउनुपर्छ।
– झोलिलो खानेकुरालाई पनि प्राथमिकता दिनुपर्छ।

कान्ति बाल अस्पतालमा कब्जियतको समस्या लिएर आउने क्रम कस्तो छ ?
– २५ देखि ३० प्रतिशत बालबालिकालाई कब्जियतको समस्या हुने भनिन्छ।
– कान्तिको ओपिडीमा आउने एक सयमध्ये ५ देखि १० प्रतिशत बालबालिकालाई कब्जियतको समस्या देखिन्छ।
– बच्चाले दिसा गर्दा रोएको, कडा दिसा गरेको, रगत देखिएको समस्या लिएर अभिभावकहरु आउने गर्छन्।

कब्जियतको समयमै उपचार नभएर यसले कस्तो किसिमको जटिलता निम्त्याउन सक्छ ?
– बच्चाले नियमित रुपमा राम्रोसँग दिसा गर्न सकेन भने उसको व्यवहारमै परिवर्तन आउँछ।
– शारीरिक रुपमै बल गर्नुपर्ने भएकाले बच्चा रुने, मलद्धारमा घाउ हुने, च्यातिने समस्या हुन सक्छ।
– उमेर बढ्दै जाँदा दिसा नियन्त्रण गर्न सक्दैन। र, कपडामै दिसा गर्न पनि सक्छ।
– लामो समय कब्जियत भए पिसाबको संक्रमण पनि हुन सक्छ।
– कब्जियतको समस्या भइरहे बालबालिकामा मानसिक विकासमा समस्या पनि देखिन सक्छ।

कुन अवस्थामा उपचारका लागि अस्पताल जानुपर्छ ?
– कब्जियतको समस्यालाई सामान्य रुपमा लिनु हुँदैन।
– मोबाइल तथा डिजिटल ग्याजेटको लत पर्न दिनु हुँदैन।
– बालबालिकालाई दिसा रोक्न दिनु हुँदैन। बिहान र बेलुका दिसा गर्न लगाउनुपर्छ।
– फाइबरयुक्त खानाहरु बढी खानुपर्छ। जंक तथा फास्टफूड खान दिनु हुँदैन।
– बच्चा जन्मिएको ४८ घण्टाभित्र दिसा गरेन भने चिकित्सकलाई देखाउनुपर्छ।
– एक महिना नपुग्दै बच्चामा कब्जियतको समस्या देखिए, पेट फुले, ढाडमा रौँ देखिए, बान्ता गरे, उमेर अनुसार तौल बढेन भने पनि चिकित्सकलाई देखाउनुपर्छ।

Leave A Reply

Your email address will not be published.