स्थानीय रैथाने बालीको सँरक्षण गर्न जोरायलको घण्टेश्वरमा खाद्य प्रदर्शनी मेला

All time tax

कबिराम डाँगी
गैरा डोटी
जोरायल गाउँ पालिका वडा नं. १ घण्टेश्वरका स्थानीय कृषकहरु स्थानीय रैथाने जातका बालीनालीको सँरक्षण गर्ने अभियानमा जुटेका छन ।
स्थानीय कृषकहरुले स्थानीय रैथाने बालीको सँरक्षण, उत्पादन र उपभोग गर्नु पर्छ भन्ने सन्देश सहित आज गैरामा आयोजना गरिएको कृषि जैविक विविधता तथा खाद्य प्रदर्शनी मेलामा आफुले उत्पादन गरेका रैथाने जातका खाद्य बाली तथा परिकारहरुको प्रदर्शनी गरेका छन ।
जैविक विविधता सँरक्षण कृषि सहकारी सँस्था लिमिटेड गैराले आयोजना गरेको कृषि जैविक विविधता तथा खाद्य प्रदर्शनी मेलामा स्थानीय कृषकहरुले लोप हुने अवस्थामा रहेका दर्जनौं स्थानीय रैथाने खाद्यान्नहरु तथा परिकारहरु प्रदर्शन गरेको सहकारी सँस्थाका ब्यवस्थापक गणेशबहादुर बिष्टले जानकारी दिनु भयो ।
ब्यवस्थापक बिष्टका अनुसार घण्टेश्वरको गैरामा आयोजना गरिएको कृषि जैविक विविधता तथा खाद्य प्रदर्शनी मेलामा स्थानीय कृषकहरु, जनप्रतिनिधिहरु, कृषि क्षेत्रका सरोकारवालाहरु, पत्रकार, कलाकारहरुले प्रदर्शनीमा राखिएका खाद्य वालीहरुको अबलोकन गर्नुका साथै रैथाने खाद्यान्नका परिकारहरु भोजन गराईएको थियो ।
प्रर्दशनीमा राखिएका खाद्य परिकारहरु मध्य डोटेली गतानी डुब्का, कोदोको रोटी, मकैको आटो, सिस्नुको तरकारी, फापरको सेल, कोईरालको अचार,जौंको लड्डु, माडा लगायतका परिकारहरु मेलाका आकर्षण थिए ।
जैविक विविधता सँरक्षण कृषि सहकारी सँस्था लिमिटेड गैराका अध्यक्ष कबिराम डाँगीको अध्यक्षतामा सम्पन्न सो मेलामा बोल्दै प्रमुख अतिथी जोरायल गाउँ पालिका वडा नंं १ का वडा अध्यक्ष जगतबहादुर मल्लले सहकारी सँस्थाले कृषि जैविक विविधताको सँरक्षणमा गरेको योगदानको प्रशँसा गर्दै सहकारी सँस्थाको अभियानमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो ।
यसैगरि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र भागेतडा दिपायलका निर्देशक मथुरा यादवले बिकासे जातको खाद्यान्न वाली प्रतिको आकर्षणका कारण स्थानीय रैथाने वालीहरु लोप हुने खतरा रहेको बताउदै जोरायलका घण्टेश्वरमा सन्चालन गरिएको कृषि जैविक विविधतासँरक्षण अभियान सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट कार्य रहेको धारणा ब्यक्त गर्नु भयो ।
मेलाका कार्यक्रमको महत्वको वारेमा जानकारी दिदै साझेदार सँस्था लि–वर्डका स्थानीय बिऊ प्रणाली सुधार कार्यक्रमका कार्यक्रम अधिकृत सरोज पन्तले परम्परागत स्थानीय रैथाने बालीहरुको सँरक्षण गर्ने, उत्पादन बृद्धि गर्ने र उपभोगका लागि प्रोत्साहित गर्न मेलाले सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा घण्टेश्वरका उत्कृष्ट कृषक खडक मल्ल, सहकारीका लेखा समिति सँयोजक भोज मल्ल, गौरीशँकर माबि गैरा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोभानसिंह ओली, जोरायल गापा कृषि शाखा प्राबिधिक सहायक चन्द्र सार्की, आलीताल गाउँपालिका वडा नंं १ डडेल्धुराका वडा अध्यक्ष योगेन्द्र देउवा लगायतका बक्ताहरुले कृषि जैविक विविधता तथा खाद्य प्रदर्शनी मेलाको महत्वको बारेमा बोल्नु भएको थियो ।
कृषि जैविक विविधता सम्बन्धि बिविध साँस्कृतिक कार्यक्रम प्रस्तुत समेत गरिएको उक्त कार्यक्रममा क्षेत्रीय कृषि निर्देशनालय दिपायल, कृषि ज्ञान केन्द्र डोटी, पत्रकार, कलाकार लगायत बिभिन्न सरोकारवाला तथा स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोग गर्ने बिभिन्न महानुभावहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
उक्त कृषि जैविक विविधता तथा खाद्य प्रदर्शनी मेला आयोजना गर्नको लागि अक्सफार्म तथा लि( वर्डको साझेदारीमा सन्चालित स्थानीय विऊ प्रणाली सुधार कार्यक्रम र कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेका थिए ।
जोरायल गाउँ पालिका वडा नं. १ घण्टेश्वरमा लि( वर्डले स्थानीय साझेदार सँस्था जैविक विविधता सँरक्षण कृषि सहकारी सँस्था लिमिटेड मार्फत स्थानीय बिऊ प्रणाली सुधार कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.