गणेश मौनी
गगुडा, डोटी
बोगटान फुड्सिल गाउँपालिकाका ३ वटा वडामा कार्यरत नयाँ महिला स्वास्थ्य स्वयँसेविकाहरुको क्षमता अभिबृद्धि गरिने भएको छ । सो गाउँ पालिकाको वडा नं. ४ सातफरी, वडा नं. ५ धिर्कामाण्डौं र वडा नं. ६ गगुडाका बिभिन्न गाउँबस्तीमा कार्यरत नयाँ महिला स्वास्थ्य स्वयँसेविकाहरुलाई आधारभूत जानकारी दिन क्षमता अभिबृद्धि गर्न लागिएको बोगटान फुड्सिल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यसै सन्दर्भमा बोगटान फुड्सिल गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य कार्यालय डोटीद्वारा महिला स्वास्थ्य स्वयंसेबिकाहरुको लागि आयोजनामा गरिएको १० दिने आधारभूत तालीम आजबाट गगुडामा शुरु भएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाका ३ वटै वडाका १५ जना नयाँ महिला स्वास्थ्य स्वयंसेबिकाहरुको सहभागिता रहेको उक्त तालीम कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई खोप, नबजात शिशु तथा सुरक्षित मातृत्व, बाल रोगको उपचार तथा रोगथाम, आमा समुह संचालन, अभिलेखिकरण तथा प्रतिबेदन लगायत आधारभूत बिषयमा जानकारी दिईने स्वास्थ्य चौकी गगुडाले जनाएको छ ।
उक्त तालिम कार्यक्रमको उद्घाटन गर्दै वोगटान फुड्सिल गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष श्याम बोगटीले गाउँघरमा रहेका महिला स्वयंमसेबिकाहरुले स्वास्थ्यको वारेमा आधारभूत जानकारी पाएमा मात्रै स्वास्थ्य सेवामा सबैको पहुँच पुग्ने बिचार व्यक्त गर्नु भयो ।
स्वास्थ्य क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रमा लगानी बृद्धि र सेवाको बिस्तार भईरहेको अवस्थामा महिला स्वास्थ्य स्वयंसेबिका मार्फत समुदाय स्तरमा प्रचारप्रसार गर्नुपर्ने अध्यक्ष बोगटीको भनाई रहेको थियो । वडाको तर्फबाट महिला स्वास्थ्य स्वयंसेबिकाको कामको उचित मुल्यांकन गर्ने र आबश्यक सहयोग गर्ने वडा अध्यक्ष बोगटीले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उक्त तालीम कार्यक्रमको सहजिकरण जनस्वास्थ्य निरिक्षक धर्मसिंह बम, जनस्वास्थ्य निरिक्षक हेमबहादुर बोगटी र सिनियर अहेब शिशिर बोगटीले गरिरहनु भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।