डोटीको शिखर नगरपालिकाका सबै स्वास्थ्य चौकीका प्रयोगशाला सेवा शुरु गरिने

घण्टेश्वर अनलाईन
दिपायल
डोटीको शिखर नगरपालिकाका सबै स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सन्चालन गरिने भएको छ ।
जनतालाई घरदैलोमा प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यले प्रयोगशाला सेवा सन्चालन गर्न लागिएको शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक हरिश शाहले जानकारी दिनु भयो ।
जनस्वास्थ्य निरिक्षक हरिश शाहका अनुसार हाल शिखर नगरपालिकामा रहेका ९ वटा स्वास्थ्य सँस्था मध्य ४ वटा स्वास्थ्य सँस्थामा प्रयोगशाला सेवा सुचारु भईसकेको र बाँकी स्वास्थ्य सँस्थाहरुमा आगामी आर्थिक बर्षमा शुरु गर्ने योजना रहेको छ ।
शिखर नगरपालिकामा रहेका स्वास्थ्य सँस्थाहरुमा प्रयोगशाला सेवा नहुँदा सेवाग्राहीहरु दिपायल सिलगढी जानु पर्ने बाध्यता रहेको थियो ।
यसै क्रममा शिखर नगरपालिकाको वडा नं. २ मा रहेको मुडेगाउँ स्वास्थ्य चौकीमा शुरु हुन लागेको प्रयोगशाला सेवाको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले शनिबार एक कार्यक्रमका बिचमा उद्घाटन गर्नु भयो ।
वडा नं. २ का वडाअध्यक्ष गणेश बोगटीको अध्यक्षतामा सम्पन्न प्रयोगशाला सेवा उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बलायरले नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा गुणस्तरीय रुपमा उपलब्ध गराउन स्थानीय स्वास्थ्य सँस्थाहरुलाई सुदृढ गर्दै लगिने बताउनु भयो ।
यसैगरि उक्त कार्यक्रममा नगर उप प्रमुख सुनिता रावलले आधारभूत स्वास्थ्य सेवा सर्बसुलभ रुपमा पाउने नगरवासीको अधिकार भएकाले स्वास्थ्य सँस्थामा उपलब्ध सेवाबाट जनताले फाईदा लिन सक्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा जनस्वास्थ्य निरिक्षक हरिष शाहले मुडेगाउँ स्वास्थ्य चौकीमा शुरु गर्न लागिएको प्रयोगशाला सेवामा उपलब्ध हुने सेवाको वारेमा जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.