घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
कृषि बिकास निर्देशनालय दिपायलले आर्थिक बर्ष २०७९/०८० को भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट डोटीका ३ जना कृषकहरु सम्मानित भएका छन ।निर्देशनालयले मँगलबार सिलगढीमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरि डोटी जिल्ला स्तरबाट उत्कृष्ट कृषकहरुलाई सम्मानित गरेको हो । ब्यवसायिक कृषि मार्फत कृषि क्षेत्रमा उत्कृष्ट काम गरेकाले प्रोत्साहान स्वरुप उत्कृष्ट कृषकहरुलाई सम्मानित गरिएको निर्देशनालयले जनाएको छ ।
भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने कृषकहरुमा क्रमस बाख्रापालन तर्फ डोटीको शिखर नगरपालिकाका वडा नं ११ का कृषक कर्ण बहादुर बलायर, तरकारी तर्फ केआइ सिंह गाउँपालिका वडा नं ६ का कृषक हरिलाल जैशी र तरकारी फलफुल खेती, पशुपालन तर्फ जोरायल गाउँ पालिका वडा नं ३ का कृषक आकृती कठायत (जोशी) रहेका छन ।
भीमदत्त उत्कृष्ट कृषक पुरस्कारको लागि ८ जना कृषकको निबेदन दर्ता भएकोमा मुल्याँकनका आधारमा ३ जना कृषकलाई छनौट गरिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनु भयो । पुस्कारबाट सम्मानित ३ जना उत्कृष्ट कृषकहरुले जनही २५ हजार नगद र सम्मान पत्र प्राप्त गरेका छन ।
उत्कृष्ट कृषक पुरस्कार बितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले डोटी स्थानीय तहहरुले कृषि क्षेत्रलाई प्रबद्र्धन गर्ने कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिनु भयो । कृषि क्षेत्रमा गरिएको लगानी बास्तबिक कृषकसम्म नपुगेको गुनासो आईरहेकाले कृषि क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले कृषकका बास्तबिक समस्याको पहिचान गरि लगानी गर्नु पर्ने र कृषि क्षेत्रमा गरिएको लगानीको प्रभावकारी अनुगमन गरिनु पर्ने बताउनु भयो ।
यसैगरि सोही कार्यक्रममा बोल्दै केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले आफुहरुले बिगत ५ बर्ष देखि उत्कृष्ट किसानलाई प्रोत्साहान गर्न कृषकहरुलाई सम्मान, किसानको विमा, कृषि परिचयपत्र बितरण गर्दै आएको जानकारी दिनु भयो । जोरायल गाउँपालिकाका उपाध्यक्ष जमूना बोहराले कृषि क्षेत्रलाई प्रोत्साहान गर्न स्थानीय तहले पनि स्पष्ट नीति तथा कार्यक्रम निर्माण गर्न आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै कृषि बिकास निर्र्देनालयका निर्देशक यज्ञराज जोशीले सुदूरपश्चिममा कृषि क्षेत्रलाई प्रबद्र्धन गर्नको लागि कृषि क्षेत्रका २२ वटा बिधामा कृषकहरुलाई प्रतिष्पर्धा गराउन लागिएको जानकारी दिनु भयो । उक्त अवसरमा निर्देशक जोशीले सुदूरपश्चिममा कृषि मन्त्रालयले कृषि क्षेत्रको लागि बनाएको नीति तथा कार्यक्रमको वारेमा समेत प्रकाश पार्नु भएको थियो । भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित कृषकहरुले पनि आफ्ना अनुभवहरु बताउनुका साथै कृषकहरुका समस्याको बारेमा सरोकारवालालाई जानकारी गराएका थिए ।