नेपाल अमेरिका पत्रकार सँघको आठौं अधिबेशन शनिबारबाट टेक्सासको ह्युस्टनमा शुरु
गैरआवासिय नेपालीलाई पत्रकारिताको माध्यमबाट नेपालसँग जोड्नु पर्दछ ः बरिष्ठ उपाध्यक्ष बिष्ट
घण्टेश्वर अनलाईन
ह्युस्टन, टेक्सास
नेपाल अमेरिका पत्रकार सँघ (नेजा) को आठौं अधिबेशन तथा १६ औं साधारण सभा शनिबारबाट टेक्सासको प्रमुख शहर ह्युस्टनमा शुरु भएको छ ।
उक्त आठौं अधिबेशन तथा १६ औं साधारण सभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासँघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकारहरुले गैरआवासिय नेपालीहरुलाई नेपालसँग जोड्न सहयोग गर्नुपर्ने बताउनु भयो । बरिष्ठ उपाध्यक्ष बिष्टले रचनात्मक र सिर्जनात्मक पत्रकारिताको माध्यमबाट गैरआवासिय नेपालीहरुलाई नेपालसँग जोड्न सके नेपाल प्रतिको अपनत्व बढ्ने धारणा ब्यक्त गर्नु भयो ।
नेपाल अमेरिका पत्रकार सँघ (नेजा) का अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी बिष्टले प्रवासमा गरिने नेपाली भाषाको पत्रकारिताको महत्वको वारेमा प्रकाश पार्दै पत्रकारहरुले नेपाली समुदायलाई निराशा नभएर आशावादी बनाउने समाचार सम्प्रेषण गर्नु पर्ने आबश्यकता औंल्याउनु भयो ।
यसैगरि अर्का अतिथी बक्ता नेपाल पत्रकार महासँघकी सल्लाहकार निर्मला शर्माले नेपालमा व्यवसायिक पत्रकारिताका चुनौती थपिदै गएका कारण नेपाली पत्रकारहरु पेशाका साथै बिदेशीनु पर्ने अवस्था रहेको बताउनु भयो ।
यसैगरि गैरआवासिय नेपाली सँघ अमेरिकाका उपाध्यक्ष सुमन थापाले उपयुक्त वातावरणको अभावमा गैरआवासिय नेपालीहरुले नेपालमा आफुले प्राप्त गरेको लगानी तथा ज्ञान सीप प्रयोग गर्न नसकेको बताउनु भयो । गैरआवासिय नेपालीहरुले दोहोरो नागरिकताको लागि लामो समय देखि पहल गरिरहेको बताउदै त्यसका लागि गैरआवासिय नेपालीहरु त्था पत्रकारहरुले पैरवी गर्न आग्रह गर्नु भयो ।
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले परिबर्तनबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा रहेकाले पत्रकारहरुले खबरदारी गर्नु गर्ने बताउनु भयो । नीति निर्माण तहमा पहुँच नभएका कारण गैरआवासिय नेपालीहरुका अधिकार स्थापित हुन नसकेको सभापति बिष्टको भनाई थियो ।
उक्त उद्घाटन समारोहमा नेपाल अमेरिकाख पत्रकार सँघका सँस्थापक अध्यक्ष गिरिश पोख्रेल, पूर्ब अध्यक्ष भोला आचार्य, गौतम दाहाल, सल्लाहकार सन्जय घिमिरे, मानार्थ सदस्य तारा बराल, वासिङटन स्टेटका पूर्ब कमिशनर मोहन गुरुङ, ग्रेटर ह्युस्टन नेपाली चेम्बर अफ कमर्शका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, नेपाली समाज ह्युस्टनका अध्यक्ष रबिन श्रेष्ठ, टेक्सस राज्यको हाउस अफ रिप्रजेन्टिटेभका चिफ अफ स्टाफ जेनिफर सोवेल लगायतका बक्ताहरुले अधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
उद्घाटन समारोहमा नेपाली समुदाय तथा पत्रकारिता क्षेत्रमा सहयोग पुर्याउने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । नेपाल उक्त अवसरमा अमेरिका पत्रकार सँघको आठौं अधिबेशन तथा १६ औं साधारण सभाको अवसरमा प्रकाशित भएको “प्रयास” नामक स्मारिका बिमोचन गरिएको थियो । नेपाल अमेरिका पत्रकार सँघका क्षेत्रीय सँयोजक सुजन पँडितले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सन्चालन महासचिब सुरज भण्डारी र सचिब कल्पना घिमिरेले गर्नु भएको थियो ।