पाठेघर मुखको क्यान्सर पत्ता लगाउन दिपायल सिलगढी नगरपालिकामा घुम्ती शिविर

घण्टेश्वर अनलाईन
दिपायल
महिलाहरूको प्रमुख समस्याको रुपमा देखा परेको पाठेघर मुखको क्यान्सर पत्ता लगाउन दिपायल सिलगढी नगरपालिकाका बिभिन्न वडामा अभियान शुरु गरिएको छ । महिलाको पाठेघरको क्यान्सर भएनभएको बेलैमा पत्ता लगाई उपचारको लागि सहयोग र सहजिकरण गर्ने उद्देश्यले अभियान थालिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर खड्काले जानकारी दिनु भयो ।
दिपायल सिलगढी नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा नेपाल परिवार नियोजन सँघ डोटी शाखाद्वारा शुरु गरिएको अभियान अन्तरगत दिपायल सिलगढी नगरपालिकाका बिभिन्न वडामा घुम्ती शिबिर मार्फत महिलाको पाठेघरको क्यान्सरको परीक्षण गरिने छ ।
एकीकृत प्रजनन स्वास्थ्य शिविरमा पाठेघर खसेका महिलाहरूको उपचार तथा स्क्रिनिंङ, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा, पाठेघरको मुखको सम्भावित क्यान्सर सम्बन्धी जाँच, यौनरोगको उपचार तथा परामर्श सेवा, गर्भवती महिलाहरूको लागि भिडियो एक्स–रे सेवा, महिलाहरूको स्वास्थ्य जाँच तथा उपचार गरिने स्वास्थ्य शाखा प्रमुख खड्काले बताउनु भयो ।
एकीकृत प्रजनन स्वास्थ्य शिविर ज्येष्ठ ७ गते तिखा स्वास्थ्य चौकी, ८ गते खातिवडा स्वास्थ्य चौकी, ९ गते नगर स्वास्थ्य केन्द्र बाफी, १० गते नगर स्वास्थ्य केन्द्र नारी दाङ, ११ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र पाकरी ,१२ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, बागठाटा र १४ गते कलेना स्वास्थ्य चौकीमा संचालन हुने छ ।

Leave A Reply

Your email address will not be published.