घण्टेश्वर अनलाईन
दिपायल
डोटी जिल्लाको शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । शिखर नगरपालिकामा रहेका खोप लिने उमेर समूहका सबै वालवालिकाहरुले पूर्ण खोप पाएको पाईएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताउनु भयो ।
स्वास्थ्य सँयोजक शाहका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका १ हजार ६ सय ७१ जना बालबालिकाहरूले पूर्ण खोप प्राप्त गरिसकेका छन भने जन्मेदेखि १५ महिना सम्मका ५ सय ७८ बालबालिकाहरू हाल खोप लगाइरहेका छन । ्
शिखर नगरपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गर्दै जिल्ला समन्वय समितिका सँयोजक लक्ष्मणबहादुर सिंहले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता कायमै राख्नु महत्वपूर्ण कुरा भएकाले नगरपालिकाले यस तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । बालबालिकाले पूर्ण खोप पाउनु अधिकार भएकाले सबै स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर नीति तथा कार्यक्रम तर्जुमा गर्नु बिचार ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले स्थानीय स्तरको स्वास्थ्य समस्याहरु स्थानीय तहलाई पहिले जानकारी हुने बताउदै बार्षिक रुपमा कम्तीमा पनि १० प्रतिशत बजेट विनियोजन गर्ने हो स्वास्थ्य क्षेत्रमा देख्ने गरि परिबर्तन ल्याउन सकिने बताउनु भयो ।
यसै गरि कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायरले वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा सबै भन्दा बढी बजेट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बिनियोजन गर्दै आएको जानकारी दिनु भयो । शिखर नगरपालिकाका उप प्रमुख सुनिता रावल (जोरा) ले भविष्यका लागि स्वस्थ र शिक्षित नागरिक उतपादन गर्ने हो भने बालबालिकाहरुको स्वास्थ्य र शिक्षामा लगानी गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । उपप्रमुख जोराले शिखर नगरपालिकालाई स्वस्थ र समुन्नत बनाउने नगरपालिकाको अभियानमा हातेमालो गर्न सम्पूर्ण नगरवासी, सरकारी तथा गैरसरकारी सँस्था, नागरिक समाजलाई आग्रह गर्नु भयो ।
शिखर नरपालिका पूर्ण खोप सुनिश्चितता घोषणामा उल्लेखनिय भूमिका निर्बाह गर्ने शिखर नगरपालिकाका ११ वटै वडाका स्वास्थ्य संस्थाहरूलाई कदर पत्र प्रदान गरिएको थियो । सेवा निवृत भएरपनि शिखर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय योगदान दिएका शिखर नगरपालिका–१० का डा. हरिलाल रावतलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।