डोटीका तीन हजार आठसय पचास बिद्यार्थीको निःशुल्क मुटु परीक्षण

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको दिपायल सिलगढी नगरपालिका क्षेत्रका तीन हजार आठसय पचास बिद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको सहयोगमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्र, काठमाडौँ र नेपाल हृदय रोग निवारण प्रतिष्ठान, डोटीले आयोजना गरेको मुटु रोग शिबिरमा बालबालिकाहरुको निःशुल्क मुटु परीक्षण गरिएको हो ।
बालबालिकाहरुका लागि जेष्ठ ११ गते सिलगढी र दिपायलमा सन्चालन गरिएको निःशुल्क मुटु रोग शिबिरमा १५ सामुदायिक बिद्यालयमा अध्ययनरत तीनहजार आठसय पचास बालबालिकाहरुको मुटु परीक्षण गरिएका थियो । जसमा ३ जना बाथ मुटु रोगी र ६ जना जन्मजात मुटु रोगी देखिएको डा. प्रेमराज वैद्यले जानकारी दिनु भयो । डा. बैद्यका अनुसार गम्भिर मुटु समस्या रहेका ६ जना बालबालिकाको प्रतिष्ठानको समन्वयमा निःशुल्क शल्यक्रिया गरिने छ ।
यसै गरि जेष्ठ १२ गते सर्ब साधारणको लागि जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क मुटुरोग शिबिरमा ३ सय ५० जनाको मुटु परीक्षण गरिएको थियो ।
शिबिरका क्रममा मुटु परीक्षण गरिनुका साथै मुटुरोग सम्बन्धि परामर्श पनि दिईएको हृदय रोग निवारण प्रतिष्ठान डोटीकी संयोजक प्रसीस महराले बताउनु भयो । सँयोजक महराका अनुसार निःशुल्क मुटु परीक्षणमा क्रममा निःशुल्क रक्तचाप मापन, ई.सी.जी., इकोकार्डियोग्राफि र औषधी समेत वितरण गरिएको थियो । शिबिरकै क्रममा डोटी बहुमुखी क्याम्पसको सभा कक्षमा आयोजना गरिएको सचेतिकरण कार्यक्रममा डा. प्रेमराज वैद्य र प्रा. डा. रामकिशोर शाहले मुटुरोग सम्बन्धी जानकारी दिनु भएको थियो ।
निःशुल्क मुटु रोग शिबिरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष डा. सत्यनारायण सुवाल, केन्द्रीय सह महासचिव–विष्णुराज नेपाल, प्रदेश संयोजक डा. कृष्ण बोहरा, मुटु रोग विशेषज्ञ डा. प्रेमराज वैद्य, डा. सुमन्त बन्जाडे, प्रा.डा.रामकिशोर शाह, डा. आभूषणविक्रम महरा लगायतका बिशेषज्ञ डाक्टरको सहभागिता रहेको नेपाल हृदय रोग निवारण प्रतिष्ठान डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.