गणेश मौनी
सिलगढी
डोटी जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाजका प्रतिनिधिहरुले जिल्लामा लागु औषध सेवन तथा ओसार पसार बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन ।
सामाजिक बिकास कार्यालय डोटीसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय डोटीद्वारा बिहिबार सिलगढीमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले लागु औषध सेवन तथा ओसार पसार नियन्त्रण गर्न व्यापक जनचेतना तथा कानूनी व्यवस्थाको वारेमा समुदाय स्तरसम्म जानकारी गराउन आबश्यक भएको बताए ।
लागु औषध नियन्त्रणमा सरोकारवालाहरुको भूमिका बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले लागु औषध सेवन तथा ओसार पसार नियन्त्रण गर्नका लागि साझा प्रयास आबश्यक रहेको धारणा ब्यक्त गर्नु भयो । स्थानीय तह जनताको सबै भन्दा नजिकको सरकार भएकाले स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रममा यो सवाललाई समेटी कार्यक्रम सन्चालन गर्न सके प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाई थियो ।
यसै गरि जिल्ला समन्वय समिति डोटीका सँयोजक लक्ष्मणबहादुर सिंहले स्थानीय तह आगामी बर्षको नीति तथा कार्यक्रम, बजेट तर्जुमाको तयारीमा रहेकाले आफुले लागु औषध सेवन तथा ओसार पसारको बिषय नीति तथा कार्यक्रममा समेट्नको लागि समन्वय गर्ने बताउनु भयो । सँयोजक सिंहले लागु औषध दुर्व्यसनीबाट युवाहरु प्रभावित भईरहेकाले अहिले देखि नै बालबालिका तथा समुदायलाई सचेतिकरण गर्नु पर्ने खाँचो औंल्याउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले लागु औषध सेवन तथा ओसारपसार समाजको प्रमुख समस्याको रुपमा अगाडी आएको बिचार व्यक्त गर्नु भयो । लागु औषध सेवन तथा ओसारपसार नियन्त्रणको लागि जिल्ला स्वास्थ्य कार्यालय डोटीले आफ्नो स्वास्थ्य सन्जाल मार्फत पहल गरिरहेको बताउदै प्रमुख मलासीले सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज सबैले सँयुक्त रुपमा अभियान सन्चालन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
अन्तरकृया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक युवराज भण्डारीले डोटी जिल्लामा लागु औषध सेवन तथा ओसारपसारको अवस्थाको वारेमा जानकारी दिनु भएको थियो ।
प्रहरी नायब उपरिक्षक भण्डारीका अनुसार डोटी जिल्लामा आ.व.२०७६।०७७ मा चरेस सहित २ जना, आ.व.२०७७।०७८ मा चरेस सहित २ जना, आ.व. २०७८।०७९ मा हिरोयन सहित २ जना र चालु आ.ब.मा हिरोयन सहित ८ जना पक्राउ परेका थिए ।
कार्यक्रममा जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट डा. निराजन श्रेष्ठले ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा लागु औषध प्रयोगकर्ताहरु बढी देखिने गरेको बताउनु भयो ।