प्रवासी नेपाली मञ्च, अमेरिकाको वार्षिक साधारण सभा १० बुँदे केन्टुकी घोषणा पत्र जारी गर्दै सम्पन्न

घण्टेश्वर अनलाईन

टेक्सास, अमेरिका

प्रवासी नेपाली मन्च, अमेरिकाको वार्षिक साधारण सभा १० बुँदे घोषणा पत्र जारी गर्दै शनिबार अमेरिकाको केन्टुकीमा सम्पन्न भएको छ ।

उक्त बार्षिक साधारण सभाले सँस्थाको वार्षिक प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पारित गर्नुका साथै १० बुँदे घोषणा पत्र जारी गरेको मन्चका सचिब थोमस बास्तोलाले जानकारी दिनु भयो ।

मन्चद्वारा जारी घोषणा पत्रमा समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन नेपालको मूलधारका राजनीतिक पार्टीहरूले राष्ट्रियता, सशासन र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन आव्हान गरिएको छ ।

यसै गरि सँस्थागत गतिबिधिहरुलाई तिब्रता दिने, सामाजिक बिकासका कामहरु, अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तालाई नेपालसँग जोड्न पुस्ताकेन्द्रित कार्यक्रम गर्ने, नेपालका ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्याउन आगामी दुई वर्षभित्र केही जिल्लालाई नमूनाको रूपमा ’ओएनएफ छात्रवृत्ति’ स्थापना गर्ने लगायतका बिषयहरु समाबेश गरिएका छन ।

नेकपा(एमाले) का महासचिब तथा लुम्बिनी प्रदेशका सँस्थापक मुख्यमन्त्री शँकर पोखरेलले उद्घाटन गर्नु भएको वार्षिक साधारण सभामा नेकपा (एमाले) का बिदेश बिभाग प्रमुख डा. राजन भट्टराई, पोलिटव्युरो सदस्य सुजिता शाक्य लगायतका बक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

मन्चद्वारा जारी केन्टुकी घोषणा पत्रको पूर्ण पाठ

१. समृध्द नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन नेपालको मूलधारका राजनीतिक पार्टीहरूले राष्ट्रियता, सशासन र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन आव्हान गर्दछ ।

२. प्रवासी नेपाली मञ्च अमरिकाको कानूनबमोजिम 501C  दर्ता भएको संस्था हो । यसमार्फत् सामाजिक, साँस्कतिक कामलाई अगाडि बढाउन मूलतः युवा विद्यार्थी, व्यवसायी र विषयविज्ञहरूको बीचमा सदस्यता अभियान सञ्चालन गरी राज्य कमिटीहरू गठन गर्ने । सम्बन्धित राज्य कमिटीले आफनो कार्यकालमा कम्तीमा दुईवटा सामाजिक काम गर्ने ।

३. प्रवासी नेपालीहरूले आर्जन गरेको सीप, ज्ञान र दक्षतालाई नेपालको विकास र समृद्धिसँग जोड्न नेपालमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्ने ।

४. विदेशमा रहेका नेपालीहरूलाई नागरिकता लगायतका हक स्थापित गराउँदा नेपाल राष्ट्रको दीर्घकालीन राष्ट्रिय हित र समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने ठहर गर्दै पूर्ण अधिकारसहितको नागरिकता प्रदान गर्ने विषयमा सहजीकरणका लागि नेपालका राजनीतिक दल, नेपाल सरकार र जनसमुदायलाई हार्दिक आग्रह गर्दछ ।

५. गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका विगत लामो समयदेखि सही बाटोमा हिड्न सकेको छैन । एनआएनएलाई सबै नेपालीहरूको छाता संस्थाको रूपमा विकास गर्ने असल, इमान्दार र ’भिजनरी व्यक्तिहरूको नेतृत्व र नीतिगत स्पष्टताको लागि आउँदो एनआरए निर्वाचनमा सक्दो पहल गर्ने ।

६. अमेरिकाको नयाँ पुस्तालाई संस्कृति, देशप्रेम र नेपालप्रति अपनत्वलाई बढावा दिन नयाँ पुस्ताकेन्द्रित कार्यक्रम गर्ने ।

७. अमेरिकाको नेपाली समुदायलाई आर्थिक, शैक्षिक, सीपमूलक,तथा सामाजिक क्षेत्रमा लाग्न प्रेरित, समन्वय र सहयोग गर्न सम्बन्धित सबैलाई आव्हान गर्दछ ।

८. नेपालको खासगरी ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरूलाई प्रोत्साहन गरी उनीहरूको शैक्षिक विकासमा टेवा पुर्याउन आगामी दुई वर्षभित्र केही जिल्लालाई नमूनाको रूपमा ’ओएनएफ छात्रवृत्ति’ स्थापना गर्ने ।

९. नेपालको समावेशी समृद्धि हासिल गर्न कृषि, जलस्रोतलाई प्राथमिक क्षेत्रका रूपमा विकास गर्दै उद्योग र सेवा क्षेत्र सँगै विकसित हुने हुनाले यी क्षेत्रमा नीतिगत योगदान र लगानी प्रवद्र्धनका लागि योगदान पुर्याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछ ।

१०. नेपालको जैविक विविधता, भूपर्यावरणीय तथा हिमाली स्रोतहरूको संरक्षणलाई उच्च प्राथमिकता दिँदै दीगो विकासको अन्तर्राष्ट्रिय अभियानलाई समेत टेवा पुर्याउने अभिप्रायले आन्तरिक रूपमा प्रदूषण न्यूनीकरण गर्ने नीतिगत तथा प्राविधिक व्यवस्था गर्नुका साथै वायुमण्डलीय माध्यमबाट प्रवेश गर्ने बाह्य प्रदूषण रोक्ने व्यवस्था गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय भूमिका खेल्न नेपाल सरकारलाई आव्हान गर्दछ ।

Leave A Reply

Your email address will not be published.