घण्टेश्वर अनलाईन
दिपायल, डोटी
के तपाई आपत बिपद्मा एम्बुलेन्स सेवा कसरी प्राप्त गर्ने भन्ने चिन्तामा हुनु हुन्छ ? अब चिन्ता लिनु पर्दैन । आफ्नो मोवाईलबाट १०२ नम्बर डायल गर्नुहोस अनि आबश्यक परामर्श सहित सहज रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्नु हुनेछ । स्वास्थ्य निर्देशनालय दिपायलले सुदूरपश्चिम प्रदेशभरि एम्बुलेन्स सेवाको सहज उपलब्धताको लागि चौबिसै घण्टा हटलाईन टेलिफोनको व्यवस्था गरेको छ ।
सुदूरपश्चिम प्रदेशभरि एम्बुलेन्सको सहज उपलब्धताको लागि सहयोग गर्न स्वास्थ्य निर्देशनालय दिपायलमा आबश्यक परामर्श सहितको एम्बुलेन्स सेवा प्रेषण केन्द्र स्थापना गरिएको जनस्वास्थ्य निरिक्षक उत्तमराज उपाध्यायले जानकारी दिनु भयो ।
सुदूरपश्चिम प्रदेशमा दर्जनौं एम्बुलेन्सहरु भएपनि सेवा लिन निकै झन्झटिलो थियो । अव स्वास्थ्य निर्देशनलाय दिपायलमा रहेको फोन नम्बर १०२ मा फोन गरेमा प्रेषकहरुले आबश्यक परामर्श सहित सहज रुपमा एम्बुलेन्स सेवा उपलब्ध हुने छ । सुदूरपश्चिममा रहेका सबै एम्बुलेन्सहरुको रेकर्ड प्रेषण केन्द्रमा रहने भएकाले जिपिएस प्रबिधिका आधारमा नजिकको एम्बुलेन्स पत्ता लगाउन सकिने निर्देशनालयले जनाएको छ ।
जनस्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार एम्बुलेन्स सेवा लिनका लागि १०२ मा सिधैँ वा त्यसमा सम्पर्क हुन नसकेका +९७७१०२ मा डायल गर्नु पर्ने छ । निर्देशालयमा रहेको आकस्मिक एम्बुलेन्स सेवा प्रेषण केन्द्रले बिरामीको आबश्यक जानकारी लिई आबश्यक परामर्शका साथै नजिकमा रहेको एम्बुलेन्सको बारेमा जानकारी दिने छ । केन्द्रले एम्बुलेन्स चालक, स्वास्थ्य सँस्थाहरुसँग पनि सहजिकरण गर्ने छ ।
स्वास्थ्य निर्देशनालयमा रहेको प्रेषण केन्द्रमा आपतकालिन मेडिकल केयर (ईएमडी) तालिम प्राप्त स्वास्थ्यकर्मी सहितको टोली चौबिसै घण्टा उपलब्ध हुने छन । एम्बुलेन्स सेवाको लागि हटलाईन १०२ देशभरको लागि भएपनि सुदूरपश्चिममा प्रेषण केन्द्र नै स्थापना गरेर सेवा शुरु गरिएको पहिलो हो ।