घण्टेश्वर अनलाईन,
सिलगढी डोटी
पछिल्लो समय डोटी जिल्लामा कोरोना सँक्रमितको सँख्यामा बृद्धि हुनथाले पछि जिल्ला स्थित सरोकारवालाहरुले रोकथाम तथा नियन्त्रणका लागि सकृयता बढाउन थालेका छन । जिल्ला स्थित सरोकारवालाहरुले जिल्लाका सार्बजनिक स्थानहरु, बजार, होटल, स्वास्थ्य सँस्था तथा यातायातका साधनहरुको अनुगमन गर्ने काम भईरहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लामा कोरोनाको सँक्रमणलाई रोकथाम गर्नका लागि गत पौष २९ गतेबाट जिल्लाभर लागू हुनेगरि जिल्ला प्रशासन कार्यालय डोटीद्वारा जारी आदेश पूर्ण रुपमा कार्यान्वयन गराउन अनुगमन शुरु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी शँकर बिष्टले जानकारी दिनुभयोे ।

यसअघि जिल्ला कोभिड –१९ व्यवस्थापन समितिले संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई प्रभावकारी तुल्याउन विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सरोकारवाला निकायहरूलाई जानकारी पठाई सकेको छ ।
प्रमुख जिल्ला अधिकारी शँकर बिष्ट सहित सरोकारवालाको टोलीले दिपायल सिलगढीका बजार, होटल, सार्बजनिक स्थानहरु, स्थानीय स्वास्थ्य सँस्थाहरु, बुडरमा रहेको हेल्प डेस्क र यातायातका साधनमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
अनुगमनका क्रममा कतिपय व्यवसायी र सेवाग्राहीले मास्क नलगाएको, सेवा लिदा दिदा र सार्वजनिक स्थानमा भौतिक दुरी कायम गरेको नपाइएकाले पहिलोपटकलाई सम्झाई बुझाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनु भयो ।

खड्काका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड विपरित मास्क नलगाउनेहरूलाई २ घण्टा खाली स्थानमा होल्ड गर्नुका साथै नियमानुसार जरिवाना गर्न सुरक्षाकर्मीलाई अनुगमनका क्रममा निर्देशन दिएको छ । विदेशबाट घर आएका वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुले समेत अनिवार्य ५ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने समेत बताईएको छ । सार्वजनिक सेवा प्रदायक निकायहरूले माघ ७ गतेदेखि खोपको पुरामात्रा लिएको कार्ड अनिवार्य गरेर मात्र सेवा लिने दिने व्यवस्था मिलाउनु पर्नेछ ।
अनुगमन टोलीमा संलग्न प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, प्रहरी उपरीक्षक दानबहादुर मल्ल, स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशी र प्रशासकीय अधिकृत यादव भण्डारी थिए ।
कस्तो छ डोटीमा कोरोना सँक्रमणको अवस्था ?
डोटी जिल्लाको पछिल्लो तथ्याँक अनुसार बिहीबार मात्र थप ३३ जनामा कोरोनाको सँक्रमण देखिएको छ । यो सँख्यासँगै डोटी जिल्लामा सक्रिय कोरोना सँक्रमितको सँख्या २ सय ६५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ सय ९१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । सबै सक्रिय कोरोना सँक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । डोटीमा ६८ हजार ७ सय ९८ जनाले कोरोना भाइरस विरुद्धको खोपको पुर्ण मात्रा लगाएका छन् भने एक लाख २१ हजार एक सय ९३ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।