डोटीको दिपायलमा नगर अस्पताल निर्माण गर्न पहल शुरु

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको दिपायल सिलगढी नगरपालिकाले दिपायलमा नगर अस्पताल बनाउने भएको छ । सुदूरपश्चिम प्रदेश मै पहिलो पटक नगर अस्पताल निर्माण गर्नका लागि दिपायल सिलगढी नगर पालिकाले तयारी शुरु गर्दै सरोकारवालासँग छलफल अघि बढाएको छ ।
बिकासको लागि जनताको स्वास्थ्य पहिलो शर्त हो । त्यसैले स्थानीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पतालको अवधारणा अघि ल्याईएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिं खड्काले बताउनु भयो ।
दिपायल सिलगढी नगर पालिका वडा नं. २ स्थित प्रदेश प्रहरी तालिम केन्द्रको अगाडी रहेको नगरपालिकाको आफ्नो जमिनमा अस्पताल निर्माण गरिने छ । यसअघि नमूना बसपार्क निर्माण गर्नको लागि खरिद गरिएको उक्त जमिनमा बसपार्कको लागि ठाउँ अपर्याप्त हुने भएपछि अस्पताल निर्माणको प्रकृया अघि बढाईएको हो ।
उक्त नगर अस्पतालको लागि एक करोड ९६ लाखको लागतमा बहुबर्षिय ठेक्का लगाएर भवन निर्माण गरिने छ । नगर अस्पतालको भवन निर्माण गर्नका लागि सँघिय सरकारले चालु आर्थिक वर्षका लागि ९० लाख रुपैयाँ विनियोजन गरिसकेको दिपायल सिलगढी नगर पालिकाले जनाएको छ ।
आगामी दुइबर्ष भित्रमा नगर अस्पतालका लागि आवश्यक पर्ने सबै भौतिक सँरचना निर्माण गरि तेस्रो वर्षबाट सेवा सुचारु हुने योजना रहेको नगर प्रमुख खड्काले जानकारी दिनु भयो । अस्पतालका लागि आवश्यक जनशक्तिको दरबन्दी केन्द्र सरकारले नै ब्यवस्था गर्ने भएपनि अस्पतालको व्यवस्थापन भने दिपायल सिलगढी नगर पालिकाले गर्ने बताइएको छ । सोमबार दिपायलमा आयोजना गरिएको स्थानीयवासी, जनप्रतिनिधि, नागरिक समाज एवम् कर्मचारी समेतको छलफल कार्यक्रममा सहभागिहरुले नगर अस्पताल निर्माणको लागि पूर्ण सहयोग र समर्थन गर्ने प्रतिबद्धता ब्यक्त गरेको नगरपालिकाले जनाएको छ ।
दिपायलमा नगर अस्पताल स्थापनापछि नगरपालिकाका वडा नं. १, २, ४, ४ तथा आसपासका गाउँपालिकाका बासिन्दाले समेत राहत पाउने नगरपालिकाले बनाएको छ ।

Leave A Reply

Your email address will not be published.