दुर्गम जिल्लाका जनताले मुलुकमा सरकार भएको महसुस गर्न पाउनु पर्दछ ः आनन्द बिष्ट, नेता नेपाली काँग्रेस

घण्टेश्वर अनलाईन
हुम्ला
नेपाली कांग्रेसका नेता आनन्द विष्टले देशमा सरकार भएको महसुस गराउन दुर्गम जिल्लाबाट बिकास योजना शुरु गर्नुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन हुम्लाद्वारा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता बिष्टले काठमाण्डौं र हुम्ला जिल्लालाई हेर्ने सरकारी दृष्टिकोण एउटै भएका कारण हुम्ला लगायत दुर्गम जिल्लाका जनताले राज्य भएको महसुस गर्न नसकिरहेको धारणा ब्यक्त गर्नु भयो । हुम्लालाई बिकासको मूलप्रवाहमा जोड्न राज्यले बिशेष योजना अघि सार्नु पर्ने नेता बिष्टले बताउनु भयो ।
नेपाली काँग्रेसको आन्तरिक बिशेष अभियानमा केन्द्रिय प्रतिनिधिको रुपमा हुम्ला जिल्लामा खटिनु भएका नेता बिष्टले नेपाली काँग्रेसप्रति जनताको आशा भरोसा रहेकाले नेपाली काँग्रेसबाट निर्बाचित मन्त्रीहरु, साँसदहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
नेपाली काँग्रेसका पूर्ब आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष समेत रहेका नेता बिष्टले नेपाली काँग्रेस प्रति आम जनताको बिश्वास, जनमत रहेपनि आफ्ना आन्तरिक बिषयलाई व्यवस्थापन गर्न नसक्दा थुप्रै पटक जनताको पक्षमा काम गर्ने अवसर गुमाएकाले पार्टीले सन्चालन गरेको आन्तरिक बिशेष अभियान सन्चालन गर्नु परेको बताउनु भयो ।
अब हामीलाई पुरानो कुरामा अल्झिने छुट छैन । हामी बिगतका घट्नाक्रमबाट शिक्षा लिदै पार्टीलाई सुदृढ बनाउदै जनताको बिश्वास जित्दै आगामी निर्बाचनमा एक्लै चुनाव लड्ने अवस्थामा पुर्याउनु पर्ने नेता बिष्टको भनाई थियो ।
हुम्ला जिल्लाका ७ वटा स्थानीय तहमा यही श्रावण महिनाको २० गते देखि १० दिने आन्तरिक बिशेष अभियान शुरु भएको छ । उक्त अभियानमा नेपाली काँग्रेस हुम्लाका सम्पूर्ण नेता कार्यकर्ताहरु परिचालित भएको नेपाली काँग्रेस हुम्लाले जनाएको छ ।