
घण्टेश्वर अनलाईन
जोरायल, डोटी
जोरायलको घण्टेश्वर माबिबाट बि.सं. २०७७ सालमा कृषि बिषयमा कक्षा १२ उत्तिर्ण गरेपछि उनका साथीसँगीहरु मध्ये कोही उच्च शिक्षा र लोकसेवा आयोगको लागि तयारी गर्न थाले तर जोरायलका छपिनाथ योगी ब्यवसायिक रुपमा तरकारी खेती गर्ने निधो गरे । जोरायल गाउँ पालिका वडा नं. ३ सुनिखोलाका २४ बर्षिय युवा छपिनाथ योगीले एक बर्ष देखि शुरु गरेको व्यवसायिक तरकारी खेती निकै फस्टाएको छ ।
कृषि बिषय पढ्नासाथ जागिर खानु पर्छ भन्ने पनि छैन । मैले आफुले नमूनाको रुपमा तरकारी खेती गरेर आय आर्जन गर्ने योजना बनाएर तरकारी खेती शुरु गरेको हुँ, युवा कृषक योगीले बताए ।
कृषक योगीले अहिले ३ वटा प्लाष्टिक हाउसमा करिब ४ सय बोट टमाटर खेती शुरु गरेका छन । उनले लगाएको टमाटरले राम्रै उत्पादन दिईरहेको छ । ३ महिनाको अबधिमा मात्रै योगीले स्थानीय बजारमा ६ क्विन्टल टमाटर बिक्री गरिसकेका छन । उनले टमाटर खेती सँगै च्याउ खेती पनि शुरु गरिरहेका छन । अहिले सम्म ५० किलो भन्दा बढी च्याउ जोरायल गाउँ पालिकाको वडा न. ३ र ४ का स्थानीय बजारमा बिक्री गरिसकेको योगीले बताए ।
जोरायललाई सडक सन्जालले जोडेपछि बिकाससँगै पर निर्भर बढेकोमा युवा कृषक योगी चिन्ता व्यक्त गर्छन । दाल तरकारी आबश्यक परेमा बिहान गरेको एक फोनमा धनगढी अत्तरियाबाट बेलुकी जोरायल आई पुग्छ । तर स्थानीय स्तरमा उत्पादन भएको ताजा अग्र्यानिक तरकारीको माग अत्यधिक रहेको उनको भनाई रहेको छ ।
म अहिलेको तरकारी खेतीलाई बिस्तार गर्न चाहान्छु । तर स्थानीय सरकार जोरायल गाउँ पालिकाले आफुलाई सहयोग र प्रोत्साहान नगरेकोमा चित्त दुःखेको बताए । मेरो राजनैतिक रुपमा पहुँच भएन । तर मैले शुरु गरिरहेको तरकारी खेती र सहयोगको लागि दिएको निबेदनको वारेमा अहिले सम्म कुनै सुनुवाई भएन, योगीले भने ।
कृषि ज्ञान केन्द्र डोटीले शुरुमा योगीलाई ६० हजार अनुदान दिएको थियो । तर कृषि ज्ञान केन्द्र डोटीले अनुदान दिईसकेपछि एक पटक पनि अनुगमन गर्न नआएको युवा कृषक योगीको गुनासो रहेको छ ।
म बिहान देखि बेलुकासम्म वारीमा नै हुन्छु । आफु कृषक पनि कृषि प्राबिधिक पनि भएका कारण सजिलो भएको छपिनाथ अनुभव सुनाउछन । मैले अहिले सम्म लोकसेवा तथा अन्य जागिर खाने सोच बनाएको छैन । मलाई लोक सेवाको आबेदन दिने पनि फुर्सद पनि छैन ।
रोजगारीको भौतारिनु भन्दा व्यवसायिक रुपमा तरकारी खेती गर्न छपिनाथको युवाहरुलाई सुझाव रहेको छ । स्थानीय सरकारले योजना बनाएर आर्थिक तथा प्राबिधिक सहयोग, प्रोत्साहनका कार्यक्रम गर्ने हो भने दर्जनौं युवाहरु कृषिमा संलग्न हुने योगीको भनाई रहेको छ ।