सामुदायिक स्वास्थ्य इकाई घण्टेश्वरमा प्रयोगशाला सेवा शुरु

कबिराम डाँगी
गैरा
जोरायल गाउँपालिका वडा नं. १ पोखरी डाँडा गैरा स्थित सामुदायिक स्वास्थ्य इकाईले प्रयोगशाला शुरु गरेको छ । धनगढी डडेल्धुरा भिमदत्त पन्त राजमार्ग अन्तरगत गैरामा रहेको सामुदायिक स्वास्थ्य इकाईले प्रयोगशाला सेवा शुरु गरेपछि जोरायल गाउँ पालिका वडा नं. १ र डडेल्धुरा आलिताल गाउँपालिका गाँखेतका स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन ।
जोरायल गाउँपालिकाको सहयोगमा सन्चालनमा ल्याईएको उक्त प्रयोगशालाको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आईतबार एक कार्यक्रमका बिचमा उद्घाटन गर्नु भयो ।
जोरायल गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष भजनसिंह मल्लको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष ओझाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता सूचिमा राखेको बताउनुभयो । गाउँपालिका क्षेत्रमा रहेका स्वास्थ्य सँस्थाहरु भौतिक रुपमा मात्र सुबिधा सम्पन्न भएन नहुने बताउदै अध्यक्ष ओझाले स्वास्थ्य सँस्थाहरुमा गुणस्तरीय स्वास्थ्य सेवा पनि उपलब्ध हुनुपर्ने कुरामा जोड दिनु भयो । सबै स्वास्थ्य सँस्थाहरुमा पर्याप्त स्वास्थ्य उपकरण र जनशक्तिको ब्यवस्था, भौतिक रुपमा सुदृढ, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष ओझाले उद्घाटनका क्रममा बताउनुभयो ।
उक्त कार्यक्रममा जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमख गोबिन्द विष्ट, सामुदायिक स्वास्थ्य इकाई गैराका प्रमुख दिपेन्द्र साउँद, स्थानीय समाजसेवी भास्कर भट्टले प्रयोगशाला सेवाबाट फाईदा लिनका लागि सबैले गाउँगाउँमा सेवाको वारेमा जानकारी प्रवाह गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष भजनसिंह मल्लले भौगोलिक रुपमा बिकट रहेको वडा नंं १ को गैरामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बताउनु भयो । धनगढी डडेल्धुरा भिमदत्त पन्त राजमार्गसँग जोडिएको गैरामा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईबाट डोटी तथा डडेल्धुरा जिल्लाका जनता पनि लाभान्वित भएकाले आगामी दिनमा स्वास्थ्य इकाईलाई सुदृढ र साधन श्रोत सम्पन्न बनाउनुपर्ने कुरामा वडा अध्यक्ष मल्लको जोड थियो ।

Leave A Reply

Your email address will not be published.