घण्टेश्वर अनलाईन
बोगटान डोटी
डोटीको वोगटान क्षेत्रका अधिकांश वालवालिकाहरुमा कुपोषणको समस्या पाईएको छ । वोगटान फुड्सिल गाउँ पालिका वडा नं. ७ चवराचौतारामा बिहिवार आयोजना गरिएको एक दिने वालरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिबिरमा चवराचौतारा लगायत आसपासका क्षेत्रका वालवालिकाहरुमा कुपोषण, निमोनिया, दम, ग्याष्ट्रिक, मानसिक लगायतका समस्याहरु पाईएको हो ।
उक्त शिबिरमा सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रले वोगटान फुड्सिल गाउँ पालिका वडा नं. ७ लगायत आसपासका क्षेत्रका १ सय ९४ वालवालिकाहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । स्वास्थ्य शिबिरमा वालवालिकाहरुलाई नि ः शुल्क औषधी पनि वितरण गरिएको चवराचौतारा स्वास्थ्य चौकीका ईन्चार्ज प्रकाश बिकले जानकारी दिनु भयो ।
उक्त वालरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिबिर निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी तथा वोगटान फुड्सिल गाउँ पालिकाको सहयोग तथा बोगटान फुड्सिल गाउँपालिका ७ नम्बर वडा कार्यालयको व्यवस्थापनमा आयोजना गरिएको स्वास्थ्य चौकीले जनाएको छ ।
शिबिर पश्चात आयोजना गरिएको कार्यक्रममा सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रले आफ्नो पुख्र्यौली ठाउँमा आयोजना गरिएको स्वास्थ्य शिविरमा सहभागी भई सेवा गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो ।
यसैगरि बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले डोटी जिल्लाको दुर्गम बोगटान फुड्सिल गाउँपालिकामा वालरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरि सहयोग गरेकोमा डाक्टर मिश्र र निसर्ग अस्पताललाई धन्यवाद दिनु भयो ।