घण्टेश्वर अनलाईन
सिलगढी
समान पहुँच बिकास केन्द्र डोटी (सिड नेपाल) जिल्ला अस्पताल डोटीलाई जेनेरेटर उपलब्ध गराएको छ । जिल्ला अस्पताल डोटीको सेवालाई गुणस्तरीय बनाउन सहयोग गर्ने उद्देश्यले ३० केभि क्षमताको जेनेरेटर उपलब्ध गराईएको सिड नेपालका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनु भयो ।
जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी सँस्था समान पहुँच बिकास केन्द्र डोटीले जेनेरेटर उपलब्ध गराएपछि अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सहयोग पुगेको अस्पतालले जनाएको छ । यसअघि जिल्ला अस्पतालमा रहेको जेनेरेटर कम क्षमताको र बेलाबेलामा प्राबिधिक समस्या आईरहने भएकाले सेवा प्रवाहमा कठिनाई भईरहेकोमा नयाँ जेनेरेटर आएपछि अल्पकालिन समयमा सहजता भएको डाक्टर निराजन श्रेष्ठले बताउनु भयो ।
सिड नेपालका अध्यक्ष यज्ञराज जोशीले अस्पतालमा आयोजना गरिएको एक कार्यक्रमका बिच उक्त जेनेरेटर हस्तान्तरण गर्नु भएको हो । सिड नेपालले जिल्लाका बिभिन्न स्थानीय तहमा स्वास्थ्य सँस्थाहरुलाई बिभिन्न स्वास्थ्य सामग्रीहरु, उपकरणहरु सहयोग, सुरक्षित मातृत्व, पोषण, स्वास्थ्य तथा सरसफाई शिक्षा, स्वास्थ्य सुशासन जस्ता बिषयमा काम गर्दै आएको छ ।