भाइतिहार (भाइटीका) र यसको महत्व

All time tax

                                                                                                                                                                                                                                                                                                                     ⁃ बिकासराज न्यौपाने, युलेश
नेपालीहरुको दोश्रो ठूलो चाड हो दिपावली अर्थात तिहार । जसलाई यमपञ्चक पनि भनिन्छ । यम भन्नाले मृत्यु देव ’यम’ र पञ्चकको अर्थ पाँच दिन । यस चाडलाई धार्मिक, सांस्कृतिक, पारिवारिक, सामाजिक, परम्परा, रितिरिवाज, नेपालीपन तथा पहिचानका दृष्टिले अत्यन्त महत्वपूर्ण मानेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यो चाड काग तिहारदेखि भाइतिहार अर्थात भाइटीकासम्म पाँच दिन मनाउने गरिन्छ । तिहारको मुख्य दिन हो ’भाइतिहार अर्थात भाइटीका’ । भाइटीकाका बारेमा विभिन्न खाले किंवदन्तीहरू चर्चामा रहेको पाइन्छ । जस मध्य यहाँ केही चर्चित किंवदन्तीहरु प्रस्तुत गरेर भाइटीकाका बारेमा संक्षिप्त रुपमा प्रकाश पार्ने जमर्को गरिएको छ ।
एकपटक यमुना नामकी एक युवतीका दाजु गम्भीर बिरामी परेछन । दाजु बिरामी भएपछि यमुना आफ्नो दाजुको स्वास्थ्यलाभका लागि पूजा प्रार्थना गरिरहेकी थिइन् । त्यसै बखत मृत्युका देवता यमराज (यम) उनको दाजुको आत्मा लिन आए । तर, यमले उनको दाजुको आत्मा लैजानुभन्दा पहिले, यमुनाले यमलाई पूजा कार्यक्रममा सामेल हुन आग्रह गरिन् । यम उनको पूजा देखेर प्रभावित भए र यमुनालाई एक वरदान माग्न भने । यमका अनुसार यमुनाले आफ्ना दाजुको लामो र स्वस्थ जीवनको वरदान मागिन्, जसले उनको दाजुलाई मृत्युबाट जोगायो । यस घटनालाई नै भाइबहिनीको सम्बन्धको रुपमा ’तिहार’मनाउने र भाइटिका लगाउने प्रचलन भएको मानिन्छ ।
किंवदन्तीको अर्को संस्करण ः किराँती राजाकी बहिनी जमुनाले राजाको स्वास्थ्यका लागि पूजा गर्दै गर्दा मृत्युदेव यमराज राजाको आत्मा लिन आएका थिए । जमुनाले पूजा सम्पन्न नभएसम्म पर्खन आग्रह गरिन् र पूजा गर्दै गर्दा केही शर्त पनि राखिन् । उनको दाजुको निधारमा लगाइएको टीका नमेटिएसम्म, मखमलीको माला नओइलाएसम्म, शरीरमा छर्किएको पानी नसुकेसम्म र तेलको घेरो नउडेसम्म, यमराजले उनका दाजुलाई लैजान पाउने छैनन् । तत्पश्चात् प्रत्येक वर्ष यमराजले आफ्ना दूतलाई मखमली फूल ओइलिएको छ कि छैन हेर्न पठाउँथे, तर फूल ओइलाउँदैन थियो । यसैले, यमराजले राजालाई लामो र स्वस्थ जीवनको वरदान दिए । यही कारणले तिहारमा दिदीबहिनीहरूले आफ्ना भाइको पूजा गर्छन् ।
अर्को कथा अनुसार, यम र यमुना दाजुभाइ थिए । यम मृत्युका देवता भएकोले सधैं व्यस्त रहन्थे । यमुना आफ्नो दाजुसँग भेट्न सक्दिन थिन् । त्यसैले, यमुनाले काग, कुकुर र गाईलाई सन्देश पठाएर आफ्नो दाजुसँग भेट्न चाहेको बताइन्, तर यम व्यस्त रहे । अन्ततः पाँचौं दिन, यमुना आफैं यमकोमा गइन् र उनको निधारमा पाँच रङको टीका लगाइन् । यही दिनदेखि तिहार मनाउने परम्परा चल्न थालेको किंवदन्ती पनि रहेको पाइन्छ ।
भाइ तिहारको दिन दियो, कलश, गणेश र बिमिरोको विशेष पूजा गर्दै मृत्युदेव यमराजको प्रार्थना गर्ने गरिन्छ । यमदेवलाई प्रार्थना गर्दा विशेष मन्त्र “धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करै साद्र्धं सूर्यपुत्र नमोडस्तुते” उच्चारण गर्ने गरिन्छ । भाइटिका लगाउने क्रममा विशेष गरी बिमिरो, ओखर, तेल, मखमली तथा सयपत्री फूलको माला, दूबो, कटुस, सप्तरङ्गी टिका आदिको प्रयोग गर्ने गरिन्छ ।
दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका (पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो) निधारमा लगाइदिने र आशीर्वादसहित उपहार साटासाट गरेर शुभकामनासमेत आदानप्रदान गर्ने प्रचलन छ । भाइटिका सम्पन्न भए पश्चात् दिदीबहीनीले दाजुभाइलाई मिष्ठान्न भोजन गराएर आराम गराउने गर्दछन् । मिष्ठान्न भोजनमा सेल रोटी, पुरी, भाइमसला आदि समावेश गर्ने गरिन्छ ।
सबैमा तिहारको शुभकामना !

Leave A Reply

Your email address will not be published.