जोरायल गाउँ पालिकाद्धारा ८ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना
बिकट गाउँबस्तीका सेवाग्राहीहरु प्रत्यक्ष रुपमा लाभान्वित
घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिकाले बिकट गाउँ बस्तीलाई लक्षित गरि ८ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ । बिकट गाउँ बस्तीका सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको जोरायल गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्टले जानकारी दिनु भयो । गाउँबस्ती मै स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।
गाउँपालिकाका अनुसार हालसम्म वडा नं. १ को गैरा, वडा ४ को खाईगाड र देउथला, वडा नंं ५ को खतेडा र चौकी, वडा नं. ६ को निरौली र गाबरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भई सेवा सूचारु भईरहेको छन भने वडा नं. ६ को निरौली दहका निकट भविश्यमा स्थापना गर्ने गरि तयारी भईरहेको छ । सामुदायिक स्वास्थ्य इकाईमा अहेब र अनमि दरबन्दी कायम गरिएको छ भने स्वास्थ्य चौकी स्तरमा उपलब्ध हुने सबै औषधीहरु उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख बिष्टले बताउनु भयो ।
यसै गरि जोरायल गाउँपालिका वडा नं. ५ को चौकीमा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले एक कार्यक्रमका बिच फागन २८ गते उदघाटन गर्नु भएको छ । जनप्रिय आधारभूत बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर बोगटीको अध्यक्षता तथा शिक्षक खगेन्द्र ओझाको सन्चालनमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले दुर्गम गाउँबस्तीका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जमूना बोहरा, शिक्षा शाखा प्रमुख तेजबहादुर खत्री, स्वास्थ्य शाखा प्रमुख गोविन्द बिष्ट, जनप्रिय आधारभूत बिद्यालयका प्रधानाध्यापक प्रेम बोगटी लगायतका बक्ताहरुले सेवाको गुणस्तर अभिबृद्धि गर्दै सामुदायिक स्वास्थ्य इकाईको स्तरोन्नती गर्दै लैजानु पर्ने कुरामा जोड दिनु भएको थियो ।
गडसेराको चौकीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना हुनु पर्ने लामो समय देखि माग हुँदै आएको थियो । सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्नका लागि जनप्रयि आधारभूत बिद्यालयलले जग्गा उपलब्ध गराएको थियो भने स्थानीय अम्बिके केदारेश्वर सामुदायिक बन उपभोक्ता समितिले करिब ४ लाख ५० हजार खर्च गरेर ३ कोठे भवन निर्माण गरि दिएको थियो । हाल सोहि भवनमा सेवा सन्चालन भईरहेको छ । सामुदायिक स्वास्थ्य इकाईबाट चौकी, अमौन, बोकटा, हडरानी, कुरै औल तथा निरौलीका केहि भागका स्थानीय बासिन्दाहरुले पनि सेवा पाउने छन ।
सोहि दिन स्वास्थ्य चौकी गडसेरामा प्रयोगशाला सेवाको पनि उद्घाटन गरिएको थियो ।