अमेरिकामा आज धन्यवाद दिवस, नेपाली अमेरिकन समुदायमा पनि लोकप्रिय बन्दै

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस

संयुक्त राज्य अमेरिकाभर आज नोभेम्बर २६, बिहीबार धन्यवाद दिवस (थ्याङ्क्सगिभिङ डे) विशेष उत्साहका साथ मनाइँदैछ। प्रत्येक वर्ष नोभेम्बर महिनाको चौथो बिहीबार मनाइने यो पर्व अमेरिकी सांस्कृतिक तथा पारिवारिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ।

संघीय सरकारले सार्वजनिक बिदा दिने भएकाले थ्याङ्क्सगिभिङ डे अमेरिकामा राष्ट्रिय उत्सवकै रूपमा स्थापित भएको छ। यस अवसरमा विद्यालय, सरकारी कार्यालय तथा अधिकांश निजी संस्थाहरू बन्द रहने गर्छन्। परिवारका सदस्य, आफन्त तथा साथीभाइ एकै ठाउँमा भेला भएर सामूहिक भोजन गर्ने, आपसी सद्भाव साटासाट गर्ने र आफूले प्राप्त गरेका सुख, अवसर तथा उपलब्धिप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा छ।

पछिल्ला वर्षहरूमा थ्याङ्क्सगिभिङ डे नेपाली अमेरिकन समुदायको पनि महत्वपूर्ण पर्व बन्दै गएको छ। सार्वजनिक बिदा, पारिवारिक जमघट र सामूहिक उत्सवका कारण यो दिवस नेपाली समुदायमा समेत लोकप्रिय हुँदै गएको छ।

युलेस सिटीका काउन्सिल सदस्य टीका पौडेलका अनुसार थ्याङ्क्सगिभिङ डे नेपाली अमेरिकनहरूको पनि महत्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै गएको छ। पौडेलले भने, “थ्याङ्क्सगिभिङ डे अब नेपाली अमेरिकनहरूको पनि महत्वपूर्ण पर्व बनिसकेको छ। सरकारले सार्वजनिक बिदा दिने र विद्यालय, बजार तथा सरकारी एवं निजी कार्यालयहरू बन्द हुने भएकाले यो सबैको साझा उत्सवका रूपमा विकास भइरहेको छ।”

यस अवसरमा अमेरिकामा रहेका नेपाली समुदायले पनि परिवार तथा साथीभाइसँग भेटघाट, सांस्कृतिक जमघट र सामूहिक भोज आयोजना गरेर दिवस मनाइरहेका छन्। अमेरिकी समाजको अभिन्न हिस्सा बन्दै गएको नेपाली समुदायले यहाँका सांस्कृतिक तथा सामाजिक परम्परालाई पनि आत्मसात् गर्दै आएको छ।

टर्कीको परिकार थ्याङ्क्सगिभिङको मुख्य आकर्षण

थ्याङ्क्सगिभिङ डेमा परम्परागत रूपमा टर्कीको मासुबाट तयार पारिएका परिकार मुख्य आकर्षणका रूपमा रहने गर्छन्। यसका अतिरिक्त म्यास्ड पोटाटोज, ग्रेभी, पम्पकिन पाइ र क्र्यानबेरी ससजस्ता परिकार पनि भोजमा समावेश गरिन्छन्।

एकै दिनमा ठूलो परिमाणमा टर्की खपत हुने भएकाले थ्याङ्क्सगिभिङ अमेरिकी कृषि तथा खाद्य बजारका लागि पनि महत्वपूर्ण अवसर मानिन्छ।

परेड, खेलकुद र सामाजिक सेवामा व्यस्त अमेरिकीहरू

थ्याङ्क्सगिभिङका अवसरमा अमेरिकाका विभिन्न सहरमा परेड, सामुदायिक कार्यक्रम तथा परोपकारी गतिविधि आयोजना गरिन्छन्। न्युयोर्कमा आयोजना हुने विश्वप्रसिद्ध ‘म्यासिज थ्याङ्क्सगिभिङ डे परेड’ यस पर्वको विशेष आकर्षणमध्ये एक हो।

यस दिन अमेरिकी फुटबलका विशेष खेल हेर्ने परम्परा पनि छ। त्यस्तै, विभिन्न सामाजिक संस्थाले घरबारविहीन, असहाय तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई निःशुल्क भोजन वितरण गर्नुका साथै सहयोगका कार्यक्रम सञ्चालन गर्ने गर्छन्।

थ्याङ्क्सगिभिङको सार्वजनिक बिदालाई अवसर मानेर लाखौँ अमेरिकी आफ्ना परिवार तथा आफन्तसँग भेटघाट गर्न लामो दूरीको यात्रा गर्छन्। त्यसैले यस समयमा विमानस्थल, राजमार्ग तथा यातायातका अन्य माध्यममा यात्रुको चाप उल्लेख्य रूपमा बढ्ने गर्छ। धन्यवाद दिवसको भोलिपल्ट पर्ने ब्ल्याक फ्राइडेका कारण बजारमा किनमेलको चहलपहलसमेत सुरु हुन्छ।

के हो (धन्यवाद दिवस )  अर्थात थ्याङ्क्सगिभिङ डे ?

थ्याङ्क्सगिभिङको आधुनिक परम्पराको ऐतिहासिक आधार सन् १६२१ मा म्यासाचुसेट्सको प्लाइमथ क्षेत्रमा भएको फसल उत्सवलाई मानिन्छ। त्यस अवसरमा युरोपबाट आएका पिलग्रिमहरू र स्थानीय आदिवासी वाम्पानोआग समुदायबीच फसल भित्र्याएको खुसीयालीमा सामूहिक भोज भएको ऐतिहासिक विवरण पाइन्छ।

यद्यपि उक्त भोजलाई आजको थ्याङ्क्सगिभिङ परम्पराको ऐतिहासिक आधार मानिए पनि त्यसबेला यसलाई औपचारिक रूपमा ‘थ्याङ्क्सगिभिङ’ भनिँदैनथ्यो। त्यस भोजमा के–कस्ता परिकार समावेश थिए भन्ने विषयमा पनि स्पष्ट ऐतिहासिक अभिलेख उपलब्ध छैन।

त्यसपछि अमेरिकाका विभिन्न उपनिवेश तथा राज्यमा सफल फसल, युद्धमा विजय र अन्य महत्वपूर्ण उपलब्धिका अवसरमा धन्यवाद ज्ञापन गर्ने दिवस मनाउने परम्परा विकास हुँदै गयो।

अमेरिकामा सन् १७८९ मा तत्कालीन राष्ट्रपति जर्ज वासिङ्टनले पहिलो संघीय धन्यवाद दिवस घोषणा गरेका थिए। त्यसपछि अमेरिकी गृहयुद्धका बेला सन् १८६३ अक्टोबर ३ मा राष्ट्रपति अब्राहम लिंकनले राष्ट्रिय एकता र कृतज्ञताको भावना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय धन्यवाद दिवस मनाउन आह्वान गरे। यस घोषणाले थ्याङ्क्सगिभिङलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

पछि अमेरिकी कांग्रेसले सन् १९४१ मा कानुनी व्यवस्था गरेपछि नोभेम्बर महिनाको चौथो बिहीबारलाई थ्याङ्क्सगिभिङ डे मनाउने स्थायी मिति निर्धारण गरियो।

आज थ्याङ्क्सगिभिङ डे अमेरिकामा केवल ऐतिहासिक परम्परामा सीमित छैन। यो परिवारसँग समय बिताउने, आफन्त र साथीभाइप्रति आभार व्यक्त गर्ने, सामाजिक सद्भाव कायम गर्ने तथा आवश्यकतामा परेका व्यक्तिलाई सहयोग गर्ने अवसरका रूपमा स्थापित भएको छ।

बहुसांस्कृतिक समाजका रूपमा विकसित अमेरिकामा नेपालीलगायत विभिन्न समुदायले पनि यस पर्वलाई आत्मसात् गर्दै आएका छन्। यसले फरक भाषा, संस्कृति र पृष्ठभूमिका मानिसबीच पारिवारिक सम्बन्ध, सामाजिक एकता र आपसी सद्भावलाई थप बलियो बनाउँदै लगेको छ।

Leave A Reply

Your email address will not be published.