घण्टेश्वर अनलाईन
काठमाण्डौं
नेपाल सरकारले दीर्घरोगीहरुलाई मासिक ५ हजार उपलब्ध गराउने भएको छ । उक्त रकम मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीहरुले प्राप्त गर्ने छन । सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै दीर्घरोगीहरुलाई मासिक औषधि उपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि २०७८ स्वीकृत समेत गरेकाले तत्काल कार्यान्वयनमा आउने भएको मन्त्रालयले जनाएको छ ।
सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्नका लागि जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ दिएको अधिकार प्रयोग गरी कार्यविधि नै बनाएर निर्णय कार्यान्वयनको बाटो खुलाएको मन्त्रालय सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
सो कार्यविधिलाई तुरुन्त लागू गर्न भन्दै नीति, योजना तथा अनुगमन महाशाखाले देशभरका ७५३ स्थानीयबाट रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले त्रैमासिक रुपमा महिनाको अन्तिम दिन एकमुष्ट १५ हजार स्थानीय तहले बिरामीको बैंक खातामा जम्मा गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यबिधीमा उल्लेख भए अनुसार निम्न विरामीले मासिक रुपमा रकम पाउने छन ।
– मिर्गौला प्रत्यारोपण गराएका
– डायलाइसिस गराइरहेका
– क्यान्सर रोग उपचारपछि निको भइसकेका व्यक्ति बाहेकका क्यान्सर रोगी, क्यान्सर पहिचान भई उपचारपछि निको भईसकेको तर चिकित्सकले तीन महिना भित्र निरन्तर निगरानीमा राखेर उपचार गराएका व्यक्तिले पाउनेछन् ।
–मेरुदण्ड पक्षघात भएका (रातो र निलो अपाङ्गता) परिचय पत्र बाहेकका व्यक्तिले पाउने छन् ।
यस्तो छ औषधि उपचार बापत खर्च प्राप्त गर्ने प्रक्रिया
–बिरामीले औषधि उपचार बापत खर्च पाउनका लागि राष्ट्रिय परिचय पत्र नम्बर वा नागरिकताको प्रतिलिपि आवश्यक पर्छ ।
–नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि आवश्यक पर्छ ।
–चिकित्सकको सिफारिस, मेरुदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनुपर्छ ।
गम्भीर रोग लागेपनि यस्ता व्यक्तिले खर्च पाउँदैनन्
नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठन संस्थाबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी/पेन्सन प्राप्त गरिरहेको व्यक्ति लिए यस निर्देशिका बमोजिम मासिक वृत्ति उपलब्ध गराइने छैन ।
– नेपाल सरकारबाट उपलब्ध गराइँदै आएका ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, वा यस निर्देशिका बमोजिम उपलब्ध गराइने मध्ये कुनै एक किसिमको भत्ता मासिक वृत्ति मात्रा प्राप्त गर्न सक्नेछन् ।
–कार्यविधिमा उल्लेख भएअनुसार एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो भत्ता प्राप्त गर्ने छैनन् ।
कार्यबिधी पढ्नको लागि यो लिंक खोल्नु होस