स्थानीय निर्बाचनको माहोलले तताउदैछ जोरायललाई

स्थानीय तहको निर्बाचनको मिति नजिकिदै जाँदा जोरायल गाउँ पालिकामा चुनाबको माहोल तात्न थालेको छ । राजनैतिक दलहरु उम्मेदवार छनौटमा ब्यस्त देखिएका छन ।  नेता तथा कार्यकर्ताहरु भेला बैठक घरदैलो भेटघाटलाई तिब्रता दिएका छन । बि. सं. २०७४ को स्थानीय तहको निर्बाचनमा नेकपा(एमाले) ले अध्यक्ष उपाध्यक्ष सहित बहुमत सिट जितेको जोरायल गाउँ पालिकामा यस पटक परिणाम आफ्नो पक्षमा पार्न लाग्न राजनैतिक दलहरु छलफल र गृह कार्यमा जुटेका छन ।
नेकपा (एमाले) ले बुधबार एक भेलाको आयोजना गरि गाउँ पालिका अध्यक्ष तथा उपाध्यक्ष पदको उम्मेदवारको नाम सर्बसहमत रुपमा टुँगो लगाएको छ । एमालेले दिएको जानकारी अनुसार अध्यक्ष पदमा अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष पदमा जमूना बोहराको नाम सर्बसहमत रुपमा छनौट गाउँपालिका कमिटीबाट टुँगो लागेको छ । दुबै जना बर्तमान जोरायल गाउँ पालिकाका अध्यक्ष र उपाध्यक्ष हुन ।

यसै गरि एमालेले जोरायल गाउँपालिकाका वडा नंं ३ बाट कलिसिंह खत्री र वडा नं. ५ बाट चेतबहादुर बिष्टको नाम वडा अध्यक्ष पदमा टुँगो लागिसकेको गाउँ पालिका कमिटी सचिब चित्र भट्टले जानकारी दिनु भयो । बाँकी वडाको पनि चाँडै टुँगो लगाईने एमालेले जनाएको छ ।
यसै गरि नेपाली काँगे्रसमा उम्मेदवारका आकाँक्षीहरु बढी देखिएका छन । जोरायल गाउँपालिकाको अध्यक्ष पदमा जोरायल गाउँपालिका वडा नंं १ बाट भजनसिंह मल्लले दावी गरेका छन । मल्ल वडा नंं १ को बर्तमान वडा अध्यक्ष पनि हुन । उनलाई नेपाली काँग्रेसको वडा समितिले सर्बसहमत रुपमा नाम छनौट गरि गाउँ पालिका समितिमा सिफारिस गरि पठाएको छ ।


यसै गरि गाउँपालिका अध्यक्ष पदमा वडा नं ६ का लिलाधर जोशीले पनि दावी गरेका छन । उनलाई वडा नं. ६ को वडा समितिले सर्ब सहमत रुपमा नाम छनौट गरि गाउँपालिका समितिमा सिफासि गरेको छ । यस्तै अघिल्लो निर्बाचनमा पराजित अध्यक्ष पदका उम्मेदवार दीपक बिष्ट पनि अध्यक्ष पदका आकाँक्षी हुन । विष्ट पराजित भईसके पछि पनि पटक पटक जोरायल गाउँ पालिकाका वडाहरुमा भ्रमण गर्दै आईरहेका छन । नेपाली काँग्रेसबाट खेमराज भण्डारी, भूमिराज बडु, मोहनबहादुर कलेल, वीरबहादुर जेठारा लगायतको नाम चर्चामा रहेपनि आधिकारिक रुपमा दावी बाहिर आएको छैन ।
नेपाली काँग्रेसले वडा अध्यक्ष पदमा वडा नं. ६ बाट नरबहादुर बोहरा र वडा नं. ३ बाट नविन ओझाको नाम सर्बसहमत रुपमा टुँगो लगाएको छ ।
सत्ता साझेदार दल बिचमा चुनावी गठबन्धन हुने चर्चा सँगै उम्मेदवारको नाम छनौटमा केही ढिलाई भएको काँग्रेस नेताहरुले बताएका छन । यसै गरि नेकपा(मोओवादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी) ले पनि चुनावी गठबन्धनको वारेमा जिल्ला स्तरको सहमती अनुसार अगाडी बढ्ने जानकारी दिएका छन ।

अघिल्लो स्थानीय तहको निर्बाचनमा गाउँ पालिका अध्यक्ष पदमा निर्बाचित दुर्गादत्त ओझाले ३ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका दीपक बिष्टले ३ हजार २ सय २८ मत प्राप्त गरेका थिए । यसै गरि उपाध्यक्ष पदमा निर्बाचित जमूना बोहराले ३ हजार ९ सय ५९ मत र निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका भावना बम (ओझा) ले ३ हजार ४६ मत प्राप्त गर्नु भएको निर्बाचन आयोगको रेकर्डमा उल्लेख छ । यसै गरि अघिल्लो निर्बाचनमा वडा नंं १, ३ र ५ नेपाली काँग्रेस र वडा नंं २, ४ र ६ नेकपा (एमाले) ले जितेको थियो । पछिल्लो राजनीतिक घट्नाक्रमका कारण यसपटकको निर्बाचन निकै रोचक प्रतिष्पर्धा हुने मतदाताहरु बताउछन ।

Leave A Reply

Your email address will not be published.