घण्टेश्वर अनलाईन
सिलगढी डोटी
डोटीको सन्दर्भमा सर्बाधिक चासोको रुपमा हेरिने दिपायल सिलगढी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न नेकपा(एमाले) को तर्फबाट आधा दर्जन आँकाक्षी देखिएका छन ।
सो पार्टीको दिपायल सिलगढी नगर कमिटीमा सहमती जुट्न नसके पछि जिल्ला कमिटीको शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठकले आकाँक्षीहरुको नाम प्रदेश कमिटीमा पठाएको छ । प्रदेश कमिटीको बैठकले उम्मेदवारको नाम टुँगो लगाउने नेकपा(एमाले) डोटीले जनाएको छ । सो पार्टीका अनुसार सिफारिस गरिएका आकाँक्षीहरुमा पूर्णराज जोशी, सच्चिदानन्द जोशी, लक्ष्मणबहादुर मलासी, शसी सोव, मन्जु मलासी र प्रेमबहादुर नेपाली रहेका छन । सिफारिस गरिएका मध्ये पूर्णराज जोशी पूर्ब नगर प्रमुख तथा मन्जु मलासी बहालवाला नगर प्रमुख हुन । यसै गरि सच्चिदानन्द जोशी र लक्ष्मण मलासी कानूनी तथा सामाजिक पृष्ठभुमिका ब्यक्ति हुन । यसै गरि शसी सोव जिल्ला समन्वय समिति डोटीका बहालवाला उप प्रमुख हुन । यसै गरि प्रेम नेपाली दलित समुदायका अगुवा हुन ।
यसै गरि सो पार्टीले शिखर नगरपालिकामा जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर र भिम बलायरलाई नगर प्रमुख पदको उम्मेदवारको लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । यसैगरि पूर्बिचौकी गाउँपालिकाको अध्यक्ष पदको लागि डम्बरसिंह डौडी, कृष्णकुमार खड्का र भरतबहादुर बोहराको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।
जिल्ला कमिटीको बैठकबाट बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष पदमा हस्तबहादुर बुढा, बडिकेदार गाउँपालिकाको अध्यक्ष पदमा चक्रबहादुर घर्तीको नाम उम्मेदवारको रुपमा सिफारिस गरिएको पार्टीले जनाएको छ ।
यसअघि जोरायल गाउँपालिकाको अध्यक्ष पदमा दुर्गादत्त ओझा र उपाध्यक्ष पदमा जमूना बोहरा, सायल गाउँपालिकाको अध्यक्ष पदमा तेजबहादुर डुमरेल र उपाध्यक्ष बिष्णादेबी सिंह, आदर्श गाउँपालिकाको अध्यक्ष पदमा डम्बर ओलीको नाम टुँगो लागिसकेको छ । प्रदेश कमिटीबाट अनुमोदन तथा उम्मेदवारको नाम टुँगो लागेपछि टिकट बितरण गरिने बताईएको छ ।