७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
डोटीका नौ वटै स्थानीय तहमा पनि कार्यालय स्थापना
घण्टेश्वर अनलाईन
काठमाण्डौं
आसन्न स्थानीय तहको निर्बाचनको सन्दर्भमा ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकाको केन्द्रमा कार्यालय स्थापना गरेका छन ।
कार्यालयले यही वैशाख १० गतेसम्म व्यवस्थापकीय कार्य गर्नेछन् । “निर्वाचन कार्यालयले आफूलाई चाहिने कर्मचारी नियुक्त गर्ने, भौतिक सामग्रीको जोहो गर्नेछन”, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । ११ र १२ गते उम्मेद्वारको मनोनयनको कार्यक्रम राखिएको छ ।
आजैदेखि जिल्लामा निर्वाचन सामग्री पठाउन थालिएको आयोगले जनाएको छ । आज मुगु, बजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँ जिल्लाका लागि निर्वाचन सामग्री पठाइएको छ । अन्य जिल्लामा पनि क्रमश: निर्वाचन सामग्री पठाइने प्रवक्ता पौडेलले जानकारी दिए ।
निर्वाचन सामग्रीको ढुवानीका लागि ढुवानी व्यवसायीसँग प्रतिस्पर्धात्मकरुपमा छट्टाछुट्टै प्रदेशमा बेग्लाबेग्लै ढुवानी व्यवसायीको छनोट गरिएको उहाँको भनाइ छ । मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने र अन्य सामग्रीको नेपाल प्रहरीले सुरक्षा गर्नेछ । निर्वाचनमा आयोगका कर्मचारीसमेत सहभागी हुने र ढुवानी सवारीको जिपिएस ट्र्याकिङ गर्ने व्यवस्था मिलाइएको छ ।
आयोगले आसन्न स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका १० हजार बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्नेछन् । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र पर्यवेक्षण गर्ने संस्थाले आयोगलाई आफ्नो प्रतिवेदन दिनुपर्ने प्रवक्ता पौडेलले जानकारी दिए ।
५३ जिल्लाको १ करोड १९ लाख मतपत्र छपाइ गरिएको छ । आयोगले करिब दुई करोड मतपत्र छपाइ गर्ने तयारी गरेको छ । स्थानीय निर्वाचनमा करिब एक करोड ७७ लाख मतदाताको अन्तिम नामावली प्रकाशित भएको छ ।
डोटीका ९ वटै स्थानीय तहमा पनि निर्बाचन अधिकृतको कार्यालय स्थापना
निर्बाचन आयोगको कार्यक्रम अनुसार आज डोटी जिल्लाका नौवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ल निर्बाचन कार्यालय डोटीका अनुसार जिल्ला अदालत भवनमा मुख्य निर्बाचन अधिकृतको कार्यालय र अन्य स्थानीय तहको केन्द्रमा निर्बाचन अधिकृतको कार्यालय स्थापना भएका छन । मुख्य निर्बाचन अधिकृतको कार्यालयले समग्रमा जिल्लाभरिको निर्बाचन सम्पन्न गराउन समन्वयकारी भूमिका खेल्नुका साथै सदरमुकाम स्थित स्थानीय तहको निर्बाचन सम्पन्न गराउने छ । यसै गरि निर्बाचन अधिकृतको कार्यालयले सम्बन्धित स्थानीय तहको निर्बाचन सम्पन्न गराउने छन ।
डोटी जिल्लामा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत डोटीका न्यायाधिश बिदुर काफ्लेलाई तोकिनु भएको छ । यसैगरि निर्वाचन अधिकृतका रूपमा पूर्वीचौकी गाउँपालिकामा प्रकाश भण्डारी, आदर्शमा दुर्गादत्त विष्ट, केआइसिंहमा सीता रेग्मी, जोरायलमा टिकाराम ढकाल, बडिकेदारमा बसन्तबहादुर बोहरा, बोगटान फुड्सिलमा नरेन्द्र देवकोटा, सायलमा गगनदेब भट्ट, शिखर नगरपालिकामा विष्णु पौडेललाई खटाइएको छ ।
मुख्य निर्बाचन अधिकृत तथा निर्काचन अधिकृतको कार्यालयमा ९ जनाका दरले कर्मचारी ब्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले जानकारी दिनु भयो । स्थानीय तहमा कार्यालय स्थापना भएसँगै निर्बाचन कार्यक्रम प्रकाशित गरिने बताईएको छ ।