Prem

डडेल्धुराका प्रदेश सभाषद मल्ल कांग्रेसबाट निष्काशित

घण्टेश्वर अनलाईन
डडेल्धुरा
नेपाली कांग्रेसले डडेल्धुरा जिल्लाबाट निर्बाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ ।
नेपाली काँग्रेस डडेल्धुरा जिल्लाको निबर्तमान सभापति समेत रहेका मल्ललाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) पार्टी हित विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निस्काशन गरिएको कांग्रेसले जनाएको छ ।
मल्लले १४ औँ महाधिवेशनका क्रममा वितरण गरिएको क्रियाशील सदस्यता विवादित बनेको थियो । विधान विपरित वितरण गरिएको सदस्यता खारेज हुनुपर्ने भन्दै प्रदेश सभाषद मल्ल समूहले असहमति जनाउदै आएको थियो । मल्लको मागलाई पार्टीले सुनुवाई नगरि एकलौटी रुपमा जिल्ला अधिबेशन गरेपछि डडेल्धुरामा मल्ल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो।

स्थानीय निर्वाचनका क्रममा पनि आफूहरुका माग सुनुवाइ नगरेको भन्दै मल्लले डडेल्धुरामा नेपाली कांग्रेस बीपी सक्रिय गराएर जिल्लाभर उम्मेदवारी दिएका छन्।  स्थानीय तहको निर्बाचनका सन्दर्भमा नेपाली कांग्रेस वीपीबाट बिभिन्न स्थानीय तहमा उम्मेदवार तय गर्दै मल्ल समूहले डडेल्धुरा जिल्लामा नेकपा( एमाले)सँग चुनावी गठबन्धन गरेको छ ।
डडेल्धुुरा जिल्लामा नेकपा( एमाले) ले ४ वटा र कांग्रेस विपीले ३ स्थानीय तहमा नेतृत्व गर्ने गरि गठबन्धन गरिएको छ ।
अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका कांग्रेस विपीले तथा नेकपा एमालेले परशुराम नगरपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.