घण्टेश्वर अनलाईन
सिलगढी
डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले समुदायमा बिद्यमान सामाजिक सवाललाई पहिचान गरि त्यसका बिरुद्ध आम सचेतिकरण गर्न आबश्यक रहेको बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाईमा शुक्रबार दिल्पेश्वर माबि दिपायलमा आयोजना गरिएको सामाजिक सचेतिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले समाजमा अझै पनि सामाजिक अन्धबिश्वासका कारण जातीय तथा लैंगिक सवालसँग सम्बन्धित समस्या बिद्यमान रहेकाले त्यसका बिरुद्ध समाजका हरेक सचेत नागरिकले लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसैगरि कार्यक्रममा बोल्दै उच्च सरकारी वकील कार्यालय दिपायलका न्यायाधिबक्ता प्रकाशराज भण्डारीले समुदाय सरकारी वकील कार्यक्रमको वारेमा जानकारी दिनु भयो । राज्यको कानून तथा नीति नियमको वारेमा हरेक नागरिकले जानकारी राख्नुपर्ने कुरामा जोड दिदै न्यायाधिबक्ता भण्डारीले बिद्यार्थीहरुले आफुले पनि जानकारी राख्ने र आफुले सिकेका कुरालाई परिवार तथा समुदायसम्म प्रचार प्रसार गर्नुपर्ने कुरा बताउनु भयो ।
यसैगरि जिल्ला सरकारी वकिल कार्यालय डोटीका जिल्ला न्यायाधिबक्ता नरेन्द्र देवकोटाले जिल्ला सरकारी वकील कार्यालयको काम कर्तव्य र अधिकारको वारेमा बालबालिका मार्फत समुदाय सम्म पुर्याउनु पर्ने कुरामा जोड दिनु भयो ।
यसैगरि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक भोला भट्टले समुदाय प्रहरीको साझेदारीमा मात्रै समाजमा अपराध न्यूनिकरण गर्न सकिने भएकाले प्रहरीले बिद्यालय तथा समुदायमा बिभिन्न सचेतिकरण कार्यक्रम सन्चालन गरिरहेको जानकारी दिनु भयो ।
समाजमा बिद्यमान बिकृति तथा बिसँगति अन्त्य गर्नको लागि बिद्यार्थीहरुको भूमिका बढाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाई तथा जिल्ला सरकारी वकील कार्यालय डोटी तथा जिल्ला प्रहरी कार्यालय डोटीको सहभागितामा दिल्पेश्वर माबि दिपायलमा सचेतिकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा दिल्पेश्वर माबिमा अध्ययनरत बिद्यार्थीहरु, शिक्षक, पत्रकारहरुको सहभागिता रहेको थियो ।