ओल्के पर्बमा सुदूरपश्चिम प्रदेश सरकारले दियो सार्वजनिक बिदा

घण्टेश्वर अनलाईन
जोरायल, डोटी
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमेलीहरुको प्रमुख चाड मध्यको एक ओल्के पर्बको अवसरमा भदौ १ गते सार्वजनिक बिदा दिने भएको छ । उक्त दिन सुदूरपश्चिम प्रदेशभरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।
हरेक बर्ष भदौ १ गतेको दिनलाई ओल्के त्यार( ओल्के) पर्बका रुपमा सुदूरपश्मिेलीहरुले धुमधामका साथ मनाउने गर्दछन ।
के हो ‘ओल्के’?
ओल्के सुदूरपश्मिेलीहरुको प्रमुख चाड मध्यको एक हो । यसलाई सुदूरपश्चिम क्षेत्रमा डोटेली संस्कृतिको मौलिक पर्वका रुपमा मनाउने गरिन्छ ।
प्राध्यापक डा. टि.एन. जोशीका अनुसार ‘ओल्को’ भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु भन्ने बुझिन्छ । ओल्केको दिनदेखि बिभिन्न देवस्थलहरूमा देवताको आह्वानस्वरूप चैत– धमारीको शुभारम्भ पनि हुन्छ । आजका दिनदेखि बूढी ( पुतनाको प्रतीक) बाँड्ने चलन पनि छ । बिभिन्न बनस्पति तथा हरियो साग मान्यजनका घरमा दिएर आदरभाव प्रकट गर्ने चलन पनि छ । वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा हरियो सागपात दिएर सद्भाब बाँडिन्छ । विशेषगरि मान्यजनलाई पिडालुका पात,काँक्रा, भाण्टा,मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ । आजका दिन डोटेली संस्कृतिमा ‘फाँणो भात’ ,’गतानी डुब्का’, ‘ भक्के रोटो’ खाने र रमाइलो गरि नाँचगान गर्ने चलन पनि छ । समग्रमा आसुरी ( राक्षसी) प्रबृत्तिको विनास गरि सत्यको पक्ष स्वीकार्ने चलनको रूपमा यो पर्व सुदूरपश्चिमका पहाडी समुदायमा मनाइदै आएको छ । ओल्केकै दिन गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गोसमेत गाड्ने गरिन्छ ।
यस पर्वलाई बिभिन्न किसिमले मनाइए पनि यसको मूल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु नै हो । पौराणिक किम्बदन्ती अनुसार यस पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारे पछि उनका साथी ग्वाला ( गोठाला) हरूले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।
काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाउने गरेको छ ।

Leave A Reply

Your email address will not be published.