राजन खड्का
धनगढी, कैलाली
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गौरा महोत्सव २०७९ को आयोजना हुने भएको छ ।
बि.सं. २०७१ सालबाट मनाउन थालिएको गौरा महोत्सव यसबर्ष यर्ही भदौ महिनाको १७ गतेदेखी १९ गतेसम्म आयोजना गरिने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले जानकारी दिनु भयो । अध्यक्ष बोगटीका अनुसार डोटेली कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन, बाल प्रतिभा प्रवद्र्धन, कला, धर्म संस्कृतिमा युवाको आकर्षण बढाउन गौरा महोत्सवमा आयोजना हुन लागेको हो ।
महोत्सवको अवसरमा धनगढीमा प्रादेशिक डेउडा प्रतियोगिता आयोजना गरिने, सुदूरपश्चिमका ९ वटै जिल्लाका सांस्कृतिक झाँकी, गौरा प्रदर्शन गर्ने, लोक बाजाहरुको प्रदर्शन गरिने, प्रदेशका ९ वटै जिल्लाका कलाकारहरुको लोक नृत्य तथा लोक गायन प्रस्तुति रहने, बाल प्रतिभा प्रवद्र्धन, लोक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज श्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।
महोत्सवका क्रममा आयोजना गरिने डेउडा प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार १ सय ११, दोस्रोलाई १७ हजार १ सय ११, तेस्रोलाई ११ हजार १ सय ११ र सान्त्वनालाई ५ हजार १ सय ११ रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको महोत्सवका साँस्कृतिक सँयोजक सुरत रावतले जानकारी दिनु भयो ।
सुदूरपश्चिम प्रदेशको भाषा, कला, साहित्य, संस्कृति, भेषभुषा रहनसहनको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन एवम पछिल्लो पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको गौरा महोत्सवमा सहभागिताको लागि प्रतिष्ठानले सुदूरपश्चिमबासीलाई अनुरोध गरेको छ । महोत्सव धनगढी उपमहानगरपालिकाको मैदानमा हुने आयोजकले जनाएको छ ।
