निर्बाचन कार्यालय डोटीद्वारा मतदाता नामावलीको वारेमा सरोकारवालालाई जानकारी

घण्टेश्वर अनलाईन
सिलगढी
आगामी मँसिरमा सम्पन्न हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्बाचनमा थप २ हजार १ सय ७२ मतदाताले मतदानमा भाग लिन पाउने भएका छन । गत असार १ गते देखि साउन १९ गतेसम्म सङ्कलन गरिएको मतदाता नामावलीमा २ हजार १ सय ७२ मतदाता थपिएको जिल्ला निर्बाचन कार्यालय डोटीले जनाएको छ । सो सम्बन्धमा जिल्ला निर्बाचन कार्यालय डोटीले सिलगढीमा मँगलबार सरोकारवालासँग अन्तरकृया कार्यक्रमको आयोजना गरि जानकारी गराएको छ ।
उक्त अन्तरकृया कार्यक्रममा दिईएको जानकारी अनुसार जिल्ला निर्बाचन कार्यालय डोटीले थपिएका मतदाताका विषयमा भदौ १३ गतेदेखि १६ गतेसम्म दाबी बिरोधकोे समय तोकेको छ । यसैगरि मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सो को दाबी विरोधको उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिन र वडामा नहुनु पर्ने नाम परेको भए उजुरी दिन कार्यालयले सरोकारवालासँग गरिएको अन्तरकृया कार्यक्रम मार्फत जानकारी दिएको छ । त्यस्तै कुनै मतदाताको मृत्यु भएको भए वा नागरिकता त्यागेका मतदाताको नाम तोकिएको समय भित्र हटाउन र तोएिको समयपछि आएका गुनासा उपर कारवाही गर्न नसकिने कार्यालयले भनेको छ ।
जिल्ला निर्वाचन कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीका ९ वटा स्थानीय तह मध्य सबैभन्दा बढी मतदाता शिखर नगरपालिका र सबैभन्दा कम बडीकेदार गाउँपालिकामा रहेका छन् ।
जिल्ला निर्बाचन कार्यालय डोटीका अनुसार शिखर नगरपालिकामा २१ हजार १ सय २५, दिपायल सिलगढी नगरपालिकामा १९ हजार १ सय ९६, आदर्श गाउँपालिकामा १४ हजार ८ सय ३५, जोरायल गाउँपालिकामा १३ हजार ५ सय ३९ र पुर्विचौकी गाउँपालिकामा १३ हजार २ सय २४ मतदाता रहेका छन् ।
यसैगरि के.आइ.सिंह गाउँपालिकामा १३ हजार १ सय ८९, सायल गाउँपालिकामा ११ हजार ५५, बोगटान फुड्सिल गाउँपालिकामा १० हजार १ सय ६६ र बडिकेदार गाउँपालिकामा ९ हजार ३ सय ९५ मतदाता रहेका छन । हाल जिल्लामा जम्मा एक लाख २५ हजार ७ सय २४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.