समान कामको समान ज्याला हुनु पर्ने डोटीका श्रमिक महिलाहरुको माग

घण्टेश्वर अनलाईन
वायल, डोटी
समान कामको समान ज्याला हुनु पर्ने केआई सिंह गाउँ पालिकाका श्रमिक महिलाहरुले माग गरेका छन । उनीहरुले बिहिबार केआई सिंह गाउँपालिकालाई एक ज्ञापन पत्र बुझाउदै नेपाल सरकारले निर्धारण गरेको न्यूनतम ज्याला अव्यवहारिक रहेकाले समान कामको समान ज्याला हुनु पर्ने भन्दै गाउँ पालिकाको ध्यानाकर्षण गराएका छन ।
एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र नेपालले केआई सिंह गाउँ पालिकमा बिहिबार आयोजना गरेको गाउँपालिका स्तरीय समान कामको समान ज्याला श्रमिक महिलाको स्वास्थ्य र सुरक्षा सम्बन्धी अन्तरक्रियामा श्रमिक महिलाहरुले गाउँ पालिकालाई उक्त ज्ञापन पत्र बुझाएका थिए ।
गाउँ पालिका स्थानीय सरकार भएकाले स्थानीय श्रमिकहरु प्रति जवाफदेही बनाउन बिभिन्न ९ बुँदे ज्ञापन पत्र बुझाईएको श्रमिक महिला सन्जालले जनाएको छ ।
केआई सिंह गाउँ पालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीलाई बुझाइएको ज्ञापन पत्रमा नेपाल सरकारले निर्धारण गरेको न्यूनतम ज्याला दरलाई पुनरावलोकन गरिनु पर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका आधारमा श्रमिक र श्रमिक महिलालाई रोजगारको सुनिश्चितता गर्ने नीति कार्यान्वयन गनु पर्र्ने, जोखिमको अवस्थामा श्रममा संलग्न श्रमिक महिलाहरूका लागि सुरक्षित कार्यस्थलको व्यवस्था गरिनु पर्ने र श्रमिक बिमा अनिवार्य हुनुपर्ने लगायतका मागहरु रहेका छन ।
श्रमिक महिला सन्जालको तर्फबाट बुझाईएको ज्ञापन पत्र बुझ्दै केआई सिंह गाउँ पालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले केआई सिंह गाउँपालिकाका महिलाले प्रस्तुत गरेको माग प्रति गाउँ पालिका सकारात्मक रहेको बताउनु भयो ।
एक्सन एड नेपालको सहयोगमा सम बिकास केन्द्र नेपाल डोटीले केआई सिंह गाउँ पालिकाका द महिला नेटवर्क नामक परियोजना सन्चालन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.