घण्टेश्वर अनलाईन, धनगढी
धनगढी उप महानगरपालिका वडा नंं – ३ को वस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा आज साँझ स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । झडपमा १३ प्रहरी घाइते भएका छन ।
धनगढी उप महानगरपालिका वडा नं ३ र २ को बीचमा रहेको ‘छ लेन’ सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने क्रममा २ नम्बरका वडावासीले अवरोध सिर्जना गरेपछि विवाद शुरु भएको थियो । पानीले वडा डुबानमा पर्ने भन्दै वडा नम्बर २ का स्थानीयले भने कुनै पनि हालतमा वडा नम्बर ३ को पानी आफ्नो वडाबाट निकास गर्न नदिने अडान लिएका थिए ।
पानी जिनकासी गर्ने क्रममा वडा नं. २ बासीले गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनु भयो । उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी राउण्ड अश्रुग्यासको प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
केही दिनदेखि भइरहेको वर्षासँगै वडा नं ३ को कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरणको कार्यालय, विशालनगरलगायतका टोल आसपासमा दुई तीन फिटसम्म पानी जमेपछि पानी निकासी गर्ने पहल थालिएको थियो ।
जमेको पानी निकास नहुँदा वडा नं ३ स्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनसमेत डुबानमा परी विद्युत् आपूर्ति बन्द हुने र विद्युतीय उपकरणमा ठूलो क्षति पुग्ने देखिएकाले प्रहरीको पहलमा होचो भूभाग रहेको वडा २ तर्फ जमेको पानी निकास गर्ने प्रयास गरिएको थियो ।
प्रहरी उपरीक्षक अधिकारीले भने, ‘अहिले स्थिति सामान्य हुँदैछ, घाइते प्रहरीको अवस्था खतरामुक्त छ ।