घण्टेश्वर अनलाईन
दिपायल
डोटी कफलेकीमा यही भदौ २३ गते केदारेश्वर देवताको जाँत(मेला) हुने भएको छ । शिखर नगरपालिका वडा नं. १ कफलेकी स्थित प्रसिद्ध केदारेश्वर देवताको मन्दिरमा भदौ २३ गते राती रतेडी र २४ गते दिउँसो दिउँसेडी जाँत हुने केदारेश्वर माबि कफलेकीका प्रधानाध्यापक गगनसिं कार्कीले जानकारी दिनु भयो ।
दिपायल राजपुरबाट करिब १ घण्टाको पैदल यात्रा गरेर पुगिने कफलेकीमा हरेक बर्ष भाद्र शुक्ल चतुदर्शी तिथीमा केदारेश्वर देवताको जाँत (मेला) लाग्ने गर्दछ । केदारेश्वर वावाको जाँतमा पबित्र भावनाले ब्रत बसेर केदारेश्वर देवताको दर्शन पूजाआजा गरेमा मनोकाँक्षा पूरा हुने जनबिश्वास रहेको छ ।
मेलामा कफलेकीका अतिरिक्त जिल्ला भित्र तथा छिमेकी जिल्लाबाट समेत श्रद्धालु दर्शनार्थीहरु मेला भर्न आउने गर्दछन । अहिले दिपायलबाट कफलेकी सम्म सडक सन्जालले जोडिसकेपछि बिगतका बर्षको तुलनामा भक्तजनहरु बृद्धि भईरहेको स्थानीय बासिन्दाहरु बताउछन ।
केदारेश्वर बाबाको जाँतको दिन पूजाआजा तथा देवताको प्रतिकको रुपमा मन लोभ्याउने झाँकीहरु प्रदर्शन, परम्परागत बाजागाजा ,सहनाइ झ्याली र भोकरको जादुमय संगीतको तालमा धामी झाँक्रीको नृत्य प्रस्तुत गरिन्छ । मन्दिर परिसरमा साके सम्बत १३७६, वि.स.१५११ को तत्कालिन डोटी राज्यका राजा कल्यान मल्लको शिलापत्र, अर्धकदका ढुङ्गामा कुदिएका विभिन्न देवी ,देवताका सुन्दर मूति समेत रहेका छन ।
फोटो : गगन कार्कीको फेसवुक वालबाट