घण्टेश्वर अनलाईन
सिलगढी
जिल्ला प्रशासन कार्यालय डोटीले बुधबार शुरुमा सेवा लिन आएका तीन जना सेवाग्राहीलाई सम्मान सहित सेवा प्रदान गरेको छ ।
नेपाली नागरिकताको प्रमाण पत्र लिन आएका एक जना महिला र २ जना युवाहरुलाई डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले खादा लगाई नेपाली नागरिकताको प्रमाण पत्र बितरण गर्नु भयो ।
यस बर्षको निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले बुधबार पहिलो सेवा लिन आउने सेवाग्राहीलाई स्वागत सहित सेवा प्रदान गर्ने कार्यक्रम तय गरिएको थियो । सन्दर्भ निजामती सेवा दिवसको भएपनि निजामती कर्मचारीहरुले हरेक दिन सेवाग्राहीलाई सम्मान सहित गुणस्तरीय सेवा दिनु पर्ने कुरामा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जोड दिनु भयो ।
यस बर्षको १९ औं निजामती सेवा दिवसको नारा “ब्यवसायिक र सिर्जनशिल प्रशासन, विकास समृद्धि र सुशासन” भन्ने रहेको छ । कर्मचारीहरु जनताका सेवक भएकाले सधै छिटो छरितो र गुणस्तरीय सेवा दिएर सुशासनको अनुभूति दिन सकेमा निजामती सेवा दिवसको नाराले सार्थकता पाउने प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाई थियो ।
यस बर्षको निजामती सेवा दिवसको अवसरमा भाद्र १८ र १९ गते सरसफाई कार्यक्रम, २१ गते बृक्षारोपण र दिपावली, २२ गते सिलगढीको ईन्द्रचोक देखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभावफेरी, जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण तथा कार्यालयमा सबैभन्दा पहिले सेवा लिन आएका तिन जना सेवाग्राहीलाई स्वागत सहित सेवा उपलब्ध गराई मनाईएको थियो ।
