घण्टेश्वर अनलाईन
जोरायल
दिपायलमा व्यापार व्यवसाय गर्दै आएका अम्बरराज अवस्थी सेलागाउँमा आयोजना गरिएको गौरा मेलामा सहभागि हुन जोरायल पुगेका छन । सुदूरपश्चिमको मौलिक सँस्कृति गौरा पर्बमा गौरादेबीको पूजाआजा तथा गौरा मेलामा सहभागि हुन जोरायल आएको अवस्थीले बताए ।
यस्तै गौराको पूजा तथा गौरा मेलामा सहभागि हुन धनगढीबाट जोरायल पुगेकी निर्मला भट्ट पनि डेउडा खेलमा रमेकी छिन ।
अम्बरराज र निर्मला मात्रै नभएर बसाई सरेका र कामको सिलसिलामा बाहिर रहेका जोरायलेहरु घर फर्केका छन । छिमेकी गाउँपालिका तथा जिल्लाबाट पनि गौरा मेलामा सयौं मानिसहरु जोरायल पुगेका छन ।
जोरायलको सेलागाउँमा भईरहेको गौरा मेलाको आज छैठौं दिन हो । जोरायल चनकट्टेका युवा समाजसेबी डिल्लीराज जोशीका अनुसार आज बेलुकी गौरा बिसर्जन गर्ने काम रहेको छ ।
जोशीका अनुसार जोरायलको सेलागाउँमा गौरा मेलाको रौनक छाएको छ । सिँगो जोरायल डेउडा खेलमा झुमेको छ ।
गौरा मेलाको आकर्षक सुदूरपश्चिमका चर्चित कलाकार भुवन दहाल, कल्पना खड्का, नन्दा कार्की र पदमराज उपाध्याय(बजाल) रहेका छन ।
बिगतका बर्षमा कोरोनाका महामारीका कारण सामान्य पूजाआजामा सिमित रहेको गौरा पर्ब कोरोनाको प्रभाव सामान्य बन्दै गएपछि जोरायलमा मनाईने गौरा पर्ब पुरानै लयमा फर्किएको जोरायल बरमका केशव जोशी बताउछन ।
अहिले जोरायलका गाउँबस्तीहरु सडक सन्जालले जोडिएका कारण यातायातमा सहज भएको र मेलापर्बहरुमा मानिसहरुको सहभागिता उल्लेख्य रुपमा बढीरहेको छ ।
स्थानीय कला सँस्कृतिको जगेर्ना र परापूर्बकाल देखि चलि आएको धर्म सँस्कृति, चाड पर्बलाई पुस्तान्तरण गर्न यस्ता पर्ब मेलाको आयोजना गर्न आबश्यक रहेको स्थानीय बुढापाकाहरु बताउछन ।