सिड नेपालको वार्षिक साधारण सभा सम्पन्न
स्थानीय सरकारसँगको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन सहभागिहरुको जोड
घण्टेश्वर अनलाईन
सिलगढी
डोटीका स्थानीय तहका जनप्रतिनिधी तथा सरोकारवालाहरुले डोटीको बिकासको लागि स्थानीय सरकार र गैरसरकारी सँस्थाहरु हातेमालो गरेर अघि बढ्नु पर्ने कुरामा जोड दिएका छन ।
समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको बिहिबार सम्पन्न १६ औँ साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रममा बोल्दै सरोकारवालाहरुले स्थानीय तहले प्राथमिकिकरण गरेका योजनाहरुमा गैरसरकारी सँस्थाले सहयोग गरेमा कार्यक्रम प्रभावकारी हुने सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सँयोजक लक्ष्मणबहादुर सिंहले जनताका वास्तविक समस्यालाई सम्बोधन गर्ने गैरसरकारी सँस्थाका कार्यक्रमलाई जिल्ला समन्वय समितिले पूर्ण सहयोग गर्ने बताउनु भयो । सिड नेपालका कार्यक्रमहरु प्रभावकारी देखिएको बताउदै प्रमुख सिंहले स्थानीय सरकारसँग प्रभावकारी समन्वय गरेमा कार्यक्रम लक्षित समुदाय सम्म पुग्न सहज हुने बताउनु भयो ।
यसैगरि दिपायल सिलगढी नगरपालिकाका प्रमुख बिजय खड्काले डोटीको बिकासको लागि गैरसरकारी सँस्थाले ठूलो योगदान पुर्याएको चर्चा गर्नु भयो । सिड नेपाल डोटीले समुदाय स्तरमा शिक्षा स्वास्थ्य क्षेत्रमा निकै सहयोग गरेको बताउदै मेयर खड्काले सिड नेपालले वास्तविक समस्या भएका समुदायमा पुगेर आफ्नो छबिलाई आगामी दिनमा पनि थप उच्च राख्न सल्लाह दिनु भयो ।
कार्यक्रममा सुझाव राख्दै आदर्श गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बमबहादुर खड्काले सिड नेपालको डोटीको सहयोगमा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य सँस्थाहरुमा भौतिक सँरचना निर्माण, स्वास्थ्य उपकरणहरु, फर्निचर, स्वास्थ्यकर्मीहरुको क्षमता बिकास तथा स्वास्थ्य सुशासनका क्षेत्रमा निकै ठूलो सहयोग प्राप्त भएको चर्चा गर्नु भयो । खड्काले सिड नेपालले कार्यक्षेत्र, विषयगत कार्यक्षेत्र फराकिलो बनाउदै लग्नु पर्ने कुरामा जोड दिनु भयो ।
दिपायल सिलगढी नगरपालिकाको सभा कक्षमा सम्पन्न वार्षिक साधारण सभामा सहभागि भएका लक्षित समुदायका प्रतिनिधीहरुले सिड नेपालका कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको बताएका थिए । कार्यक्रममा सहभागिहरुले उठाएका बिभिन्न सवालको अध्यक्ष यज्ञराज जोशी तथा बिभिन्न परियोजनाका सँयोजकहरुले जवाफ दिनु भएको थियो ।
कार्यक्रममा परियोजना सँचालित स्थानीय तहका जनप्रतिनिधीहरु, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधीहरु, साझेदार सँस्थाका प्रतिनिधीहरु पत्रकार, नागरिक समाज तथा सँस्थाका लक्षित समुदायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
सिड नेपाल डोटीले बोगटान फुड्सिल गाउँ पालिका, पुर्विचौकी गाउँपालिका, सायल गाउँपालिका, आदर्श तथा जोरायल गाउँपालिका, दिपायल सिलगढी र शिखर नगरपालिका साथै सुदूरपश्चिमका अन्य केही जिल्लामा स्वास्थ्य, शिक्षा, सुशासन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । वार्षिक सामाजिक परीक्षण कार्यक्रमको सहजिकरण पत्रकार रोजेन्द्र जोशीले गर्नु भएको थियो ।