घण्टेश्वर अनलाईन
विपि नगर डोटी
डोटीमा फेरी एक सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ । डोटीको बडिकेदार गाउँ पालिका वडा नं. ३ बेवराकि ३० बर्षिय सुत्केरी महिला बिष्णा रोकामगरको हवाई उद्दार गरिएको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउँदले जानकारी दिनु भयो ।
बडिकेदार गाउँपालिका वडा नंं ३ कि ३० वर्षीया विष्णा रोकामगरले बिहिबार राती स्थानीय स्वास्थ्य सँस्थामा मृत बच्चा जन्माएको र साल अड्किएर अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि हवाई उद्दार गरिएको हो । डोटीको बडीकेदार गाउँपालिका नम्बर ३ बेवरा विकट बस्ती रहेको, बर्षातको समयमा तत्काल जिल्ला बाहिर थप उपचारको लागि लैजान सम्भव नभएका कारण नेपाली सेनासँग सहयोग मागेको बडिकेदार गाउँ पालिकाले जनाएको छ ।
बिष्णा रोकामगरको उच्च रक्तश्राब भईरहेको र उनको स्वास्थ्य जोखिममा रहेको सूचना आएपछि शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय डोटी, बडीकेदार गाउँपालिका र डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको पहलमा नेपाली सेनाको एन ए ०६१ नम्बरको हेलिकप्टरद्वारा उद्दार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरुलाई नेपाली सेनाको हवाई सेवाद्वारा विभिन्न समयमा उद्दार गर्ने गरिएको छ ।
बिहिबार नै डोटी सायल गाउँ पालिका वडा नंं ६ कि सुत्केरी महिला धौलीदेबी साउँदको हवाई उद्दार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । यस अघि डोटी आदर्श गाउँपालिका अन्तरगत पर्ने गिरिचौकाकी एक स्वास्थ्यकर्मी महिलाको समयमा उद्दार नहुँदा ज्यान गएको थियो ।