घण्टेश्वर अनलाईन
सिलगढी
दलित महिला सँघ (फेडो) डोटीले परियोजना क्षेत्रमा गठन गरिएका १० समुहबाट ५० जना लक्षित समुहका महिलाहरुलाई सामाजिक सुरक्षा र वित्तीय समाबेशी सम्बन्धि जानकारी दिएको छ ।
लक्षित समुहका दलित महिलाहरुलाई सामाजिक सुरक्षा तथा बित्तिय समाबेशीकरण सम्बन्धि आधारभूत जानकारी दिई क्षमता अभिबृद्धि गर्ने उद्देश्यले भदौ २३ र २४ गते दुई चरणमा दलित महिला उद्यमीहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको फेडो डोटीका जिल्ला परियोजना सँयोजक योगेश मल्लले जानकारी दिनु भयो ।
कार्यक्रममा स्थानीय स्तरमा श्रोतको पहिचान र पहुँच, स्थानीय तहको योजना तर्जुमा प्रकृयामा दलित महिलाका उद्यम बिकास योजनाहरु समाबेश र पैरबी लगायतका बिषयमा जानकारी दिईएको थियो ।
कार्यक्रममा बोल्दै दलित महिला सँघ डोटीकि अध्यक्ष लक्ष्मी बादीले स्थानीय तहको वार्षिक योजना तर्जुमा गर्दा दलित महिलाको लागि उद्यम बिकास योजना बनाई पेश गर्नु पर्ने र सामाजिक सुरक्षाको लागि खबरदारी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
ब्रेड फर दि वल्र्डको आर्थिक सहयोगमा संचालित दलित महिलाको बिकास र सामाजिक न्यायका लागि शासन सुदृढीकरण परियोजना अन्तरगत दलित महिला सँघ (फेडो) ले दिपायल सिलगढी नगरपालिकाका ९ वटै वडामा दलित महिलाहरुको सशक्तिकरणका लागि बिभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ ।
