
घण्टेश्वर अनलाईन
झिग्राना, डोटी
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको प्रवेशद्वार डोटीको झिग्रानामा पहिलो पटक बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्रले झिग्रानामा जडान गरेको राष्ट्रिय प्रसारणको ५० केभि थ्रीफेज ट्रान्सफर्मर लाइनको पूर्बिचौकी गाउँ पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले भदौ २६ गते उद्घाटन गर्नु भयो । पूर्बिचौकी गाउँ पालिका वडा नं. २ बगलेकको झिग्रानामा पहिलो पटक बिजुली बत्ति बलेपछि स्थानीय बासिन्दाहरुले खुशीयाली मनाएका छन ।
यसअघि डोटीको झिग्रानामा बिद्युत सेवा नपुग्दा स्थानीय बासिन्दाहरु सोलार तथा परम्परागत टुकी, लालटिन र सल्लाको झरो बाल्न बाध्य थिए । खप्तडको प्रबेशद्वार झिग्रानालाई राष्ट्रिय प्रसारण लाईनमा जोड्न पूर्बिचौकी गाउँपालिकाले बिगत देखि नै पहल गर्दै आएको थियो । बगलेकको झिग्रानासम्म बिजुली बलेपछि वडा २ बगलेकका सबै गाउँबस्तीमा बिद्युत सेवा पुगेको पूर्बिचौकी गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले जानकारी दिनु भयो ।
झिग्राना सम्म बिद्युत बिस्तार भएपछि झिग्राना भएर खप्तड जाने आन्तरिक तथा वाह्य पर्यटकहरु तथा ६० घरधुरी स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । झिग्रानासम्म पक्की सडक सन्जालले जोडिएको अवस्थामा बिद्युत सेवा पुगेपछि पर्यटकलाई आकर्षित गर्न सकिने पर्यटन व्यवसायी दिपकबहादुर खड्काले बताउनु भयो ।
बिगतमा बिद्युत सेवा नहुँदा पर्यटकहरुका लागि मोवाईल क्यामेरा लगायतका उपकरणहरु चार्ज गर्न समस्या थियो । जसले गर्दा झिग्राना तथा खप्तडको बसाई छोट्याउनु पर्ने अवस्था थियो । झिग्रानामा होटेल, होम स्टे जस्ता पूर्बाधारहरु बनिसकेकाले अव पर्यटकहरुको बसाई लम्व्याउन सकिने सम्भावना रहेको छ ।
पूर्वीचौकी गाउँपालिकाका सबै वडाका गाउँबस्तीहरुमा बिद्युत सेवा पुर्याउने योजना अनुसार झिग्रानामा बिद्युत सेवा बिस्तार गरिएको पूर्बिचौकी गाउँ पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनु भयो ।
बिद्युत सेवा बिस्तार सँगै खप्तडमा आउने पर्यटकहरु, सुरक्षार्थ खटिएका नेपाली सेना, राष्ट्रिय निकुञ्जका कर्मचारी, स्थानीय व्यवसायी र वरपरका बासिन्दाहरूलाई प्रत्यक्ष फाईदा पुगेको पूर्बिचौकी गाउँ पालिकाले जनाएको छ ।
उज्यालो गाउँ पालिका बनाउने गाउँपालिकाको योजना अनुसार गाउँ पालिकाका सबै गाउँबस्तीलाई बिद्युतको राष्ट्रिय प्रसारण लाईनमा जोडिने अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनु भयो ।