घण्टेश्वर अनलाईन
सिलगढी
डोटी बहुमुखी क्याम्पस, विद्यार्थी कल्याण तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको अन्तरसङ्कायगत भलिबल प्रतियोगिता आजबाट सिलगढीमा शुरू भएको छ ।
बडा दशै तथा शुभ दिपावलीको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा डोटी बहुमुखी क्याम्पसका बिभिन्न सँकायबाट छात्रतर्फ ५ टिम र छात्रातर्फ ४ टिमको सहभागिता रहेको क्याम्पसका प्राध्यापक फणिन्द्र साउँदले जानकारी दिनु भयो ।
प्रतियोगिताको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका सँयोजक लक्ष्मणबहादुर सिंहले उच्च शिक्षा हासिल गर्ने बिद्यार्थीहरुमा चौतर्फी ज्ञान हुनु पर्ने कुरामा जोड दिनु भयो ।
बिद्यार्थीहरुले बाह्य बिषयबस्तुको जानकारी राख्ने, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापको बारेमा चासो राखेमा बिद्यार्थीहरुको ब्यक्तित्व बिकासमा सहयोग पुग्ने सँयोजक सिँहले बताउनु भयो ।
क्याम्पस प्रमुख सहप्राध्यापक दिलानन्द जोशीको सभापतित्व तथा सहायक क्याम्पस प्रमुख अर्जुन देउवाको सन्चालनमा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि भलिबल संघका केन्द्रीय सदस्य राजबहादुर खड्काले विद्यार्थीलाई खेल क्षेत्रमा अगाडि बढाउन सँघले आबश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य क्याम्पसका उपप्राध्यापक टीका फूलाराले गर्नु भएको थियो ।
छात्र तर्फ आज सम्पन्न भएको खेलमा बिएड दोश्रो र तेस्रो बर्षका विद्यार्थीको सयुक्त टिमले बिएड प्रथम बर्षमा अध्ययनरत विद्यार्थीको टिमलाई हराएको छ भने बिसिए र बिएको सयुक्त टिमले बिएडको टिमलाई हराएको छ । बाकी खेलहरू बिहिवार शुरू हुने विद्यार्थी कल्याण तथा खेलकुद शाखाले जनाएको छ ।