गौरीशँकर माबि गैराको वार्षिक सामाजिक परीक्षण सम्पन्न
बिद्यालय हाम्रो मात्र नभएर राम्रो पनि हुनु पर्ने कुरामा जोड
कबिराम डाँगी
गैरा
बिद्यालय हाम्रो मात्र नभएर राम्रो पनि हुनु पर्ने कुरामा जोरायल गाउँपालिका वडा नं. १ गैरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
गौरीशँकर माबि गैराद्वारा बिहिबार आयोजना गरिएको वार्षिक सामाजिक परीक्षण कार्यक्रममा बोल्ने सहभागिहरुले बिद्यालयले शिक्षाको गुणस्तर थप सुधार गर्न पहल गर्नु पर्ने, आबश्यकता अनुसार भौतिक सँरचनाहरु थप गर्दै जानु पर्ने, बिद्यालयको सुधारको लागि अभिभावकहरुको समेत प्रभावकारी अनुगमन हुनु पर्ने र बिद्यालयले प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोभानसिंह ओलीको अध्यक्षता तथा शिक्षक राजन लुईटेलको सन्चालनमा सम्पन्न आर्थिक बर्ष २०७८।७९ को सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोरायल गाउँपालिका वडा नंं १ का वडाअध्यक्ष जगतबहादुर मल्लले गौरीशँकर माबि राजमार्गसँग जोडिएको बिद्यालय भएकाले सरोकारवालाको समेत चासोको बिषय छ । त्यसैले अन्य बिद्यालय भन्दा उत्कृष्ट बन्न पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
त्यसैगरि आलिताल गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष योगेन्द्रबहादुर देउवाले बिद्यालय साझा सँस्था भएकाले बिना पूर्बाग्रह बिद्यालयको बिकासका लागि सबैले सहयोग गर्नु पर्ने खाँचो औंल्याउनु भयो ।
कार्यक्रमका सहभागिहरुले उठाएका बिभिन्न सवालको वारेमा बिद्यालयका प्रधानाध्यापक धर्मानन्द जोशी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभानसिंह ओलीले जवाफ दिनु भएको थियो ।
सामाजिक परीक्षण कार्यक्रममा बिद्यालयका शिक्षक टेकराज भट्टले बिद्यालयको शैक्षिक, आर्थिक र भौतिक अवस्था समेटिएको सामाजिक परीक्षण प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिक सामाजिक परीक्षण कार्यक्रममा अभिभावक, शिक्षक, बिद्यार्थी, तथा सरोेकारवालाहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बिद्यालयमा स्थापना गरिएको बिभिन्न अक्षय कोषबाट छात्रबृत्ति बितरण गरिएको थियो । बिद्यालयका अनुसार बिद्यालयमा मुरलीधर भट्टद्वारा स्थापना गरिएको महादेब स्मृति छात्रबृत्ति कोषबाट ३ जना छात्रछात्राहरु, रघुनाथ भट्टद्वारा स्थापना गरिएको धर्मतारा स्मृति अक्षयकोषबाट ६ जना उत्कृष्ट जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति रकम प्रदान गरिएको थियो ।