घण्टेश्वरको तोली गाउँमा बिजुली बल्यो, स्थानीय बासिन्दाहरु हर्षित

llc

कबिराम डाँगी
गैरा डोटी
घण्टेश्वरको तोली गाउँमा बिद्युत पोल गाडिएको एक दशकपछि बिजुली बलेको छ । जोरायल गाउँ पालिका वडा नंं १ अन्तरगत पर्ने तोली गाउँमा बिद्युत पुगेपछि करिब ५० घरधुरी स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । तोलीगाउँमा बिद्युतीकरण गर्नुपर्ने स्थानीय बासिन्दाहरुले बिगत लामो समय देखि माग गर्दै आएका थिए । पहुँचवालाहरुले बिकट गाउँबस्तीलाई भन्दा आफ्नो गाउँघरलाई पहिलो प्राथमिकता नदिएका कारण बिद्युत पोल गाडिएको लामो समय भएपनि बिद्युत लाईन बिस्तार हुन सकेको थिएन ।
अहिले नेपाल बिद्युत प्राधिकरणको बुडर सव सेन्टरबाट बितरण गरिएको लाईनबाट तोली गाउँमा १५ केभिको ट्रान्सफर्मर जडान गरेर बिद्युत लाईन बिस्तार गरिएको हो । तोली गाउँमा बिद्युत लाईन बिस्तार गरिएपछि अहिले स्थानीय बासिन्दाहरु बिजुली बाल्नका लागि घरघरमा बिद्युत वाईरिङ गर्नका ब्यस्त रहेका छन ।
बिगतमा बिद्युत लाइन बिस्तार नहुँदा गैरा बुडर गोल्डेनमा बलेको बिजुली हेरेर चित्त बुझाउँथ्यौं । सोलार, सल्लाको झरो बालेर उज्यालो बाल्नु पर्ने बाध्यता थियो । अब तोलीबासीहरु अध्याँरोबाट मुक्त भएको तोलीका अगुवा कृषक खडक मल्ल बताउछन । मल्लका अनुसार धनगढी डडेल्धुरा भिमदत्त पन्त राजमार्गसँग जोडिएको वडा भएपनि अधिकाँश गाउँबस्तीहरु बिद्युत सेवाबाट बँचित भएका छन । अझैपनि वडा नंं १ को बडाखेत, खार, बेरुवाटा, नाङनी, खाईगाड लगायतका गाउँबस्तीमा बिद्युत पुग्न सकेको छैन ।
बिद्युत लाईन बिस्तार भएपछि स्थानीय कृषकहरु हर्षित भएका छन । तोलीका बिजुली बलेपछि तरकारी खेतीमा रातीको समयमा लाग्ने रोगकिराहरु नियन्त्रण गर्न सहयोग पुगेको कृषकहरु बताउछन । तोली गाउँमा तरकारी खेती गर्ने ब्यवसायिक कृषकहरु रातीको समयमा लाग्ने किराबाट पीडित थिए । अहिले पोलिहाउसमा बिजुलीबाट उज्यालो बाल्दा तरकारीमा लाग्ने किराहरु ५० प्रतिशतले कमी आएको स्थानीय कृषक लालमती मल्ल र भागरथी मल्लको धारणा रहेको छ ।
तोली गाउँका कृषकले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेकाले उत्पादन गरिएको तरकारी सुरक्षित राख्न चिस्यान गृह निर्माण गरिनु पर्ने स्थानीयको माग रहेको छ ।

Leave A Reply

Your email address will not be published.