मिनबहादुर रोकाया
जोरायल
बडा दशैं हिन्दू नेपालीहरुको महत्वपूर्ण पर्ब हो । नेपाली हिन्दू समुदायले बडादशैलाई ंअन्य चाडपर्ब भन्दा महत्वका साथ मनाउने गर्दछन । वडा दशैंमा परिवारका सबै सदस्यहरु, नातागोता, ईष्टमित्रहरु एकै स्थानमा जम्मा हुने, मान्यजनको हातबाट टिका तथा जमारा लगाउने, आशिर्वाद प्राप्त गर्ने, सुखदु:खका साटासाट गर्ने तथा सँगै बसेर मिठोमसिनो खाने भएकाले पनि यो पर्बको महत्व बढ्न गएको हो ।
खासगरि बडा दशैंमा नाताले ,कुलले, कुटुम्भले या पदिय ओहदा र हैसियतले घरका बडा, परिवारका वडा, समाज तथा समुदाय र राष्ट्रका बडा मानिने मान्यजनको हातबाट निधारमा टिका, कानमा जमारा पहिराउदै र आर्शिवाद थापेर मनाइने भएकाले यो पर्व बडादशैंका नामले प्रचलित छ । अन्य समयमा घर भन्दा बाहिर रहनेहरु पनि वडा दशैंमा घर फर्किने गर्दछन । घर परिवार, आफन्त, छरछिमेकीहरु, ईष्टमित्रहरु, साथीभाईहरु, प्रियजनसँग भेटघाट, पुनर्ताजगी गर्न एवम् पुनर्मिलन हुने गर्दछ । आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइने यो पर्वको आफ्नै किसिमको महिमा एवम् माहात्म्य रहेको छ । संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो दशैं । यो पर्व मनाउने प्रचलनको प्रारम्भका सम्बन्धमा खासै तथ्य नभेटिएपनि हामी अनुमान गर्न सक्छौं कि हाम्रा पितापूर्खाहरु अर्ध जंगली अवस्थाबाट विकसित हुँदै कृषि युगमा प्रवेश गरेपछि दशैं पर्व मनाउने परम्परा शुरु भएको हुनु पर्दछ ।
बडादशैंको प्रारम्भका कथा तथा आख्यानहरु
सामान्यतया प्राचिनकालदेखि हिन्दू समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाउने प्रचलन रही आएको छ । पौराणिक आख्यान अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरुका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र त्यहाँका देवताहरु माथी आतंकपूर्ण ढंगबाट शासन गर्न थाले । दैत्य सम्राटको त्यो आतंक सहन गर्न नसकेपछि देवताहरु ब्रह्माको शरणमा गए । ब्रह्माको सल्लाह अनुसार भगवान विष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरुको वृहत छलफल चल्यो । सो वृहत छलफल पछि सबै देवताहरुले आफ्नो आफ्नो शक्तिपुञ्ज निकाले । त्यसरी निकालिएका शक्तिपुञ्जहरु एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गर्यो । नवदुर्गा भगवतीले अब दैत्य सम्राटहरुलाई युद्धमा आउन आह्वान गरिन् । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्धपछि शन्ड मुण्ड र रक्तबीज सहित महिषासुरको बध गरिन । सो महिषासुरको बध गरेर दशौं दिनमा धुमधामसंग विजय उत्सव मनाउने कार्य भयो । त्यो विजय उत्सव मनाउने दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो । यसै दिनको सम्झना स्वरुप विजया दशमी पर्व मनाइदै आएको हो भन्ने पौराणिक मान्यता छ । यो संगै दशैं पर्वको महिमासंग जोडिएका प्रसस्तै कथा तथा कहानीहरु सुन्नमा आएका पाइन्छन् । यस्तै एक अर्को कथानुसार–रामले रावणको बध गरेर अयोध्या फर्केपछि एक ठूलो जनसभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान चलिरहँदा सीताले मुख मट्काएर व्यंग्य मुस्कान छोडेको दृश्य विश्वामित्रले याद गरेका रहेछन् । जनसभा समाप्त भएपछि विश्वामित्रले सीतासंग सोधे । सीताले सजिलै त बताउनै मानिनन् तर विश्वामित्रले लामो समय सम्म कर गरेपछि सीताले भनिन्,‘त्यो जाबो दश टाउके रावणलाई वध गर्दा त रामको विरताको यत्रो बखान हुन्छ भने सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरुले के गर्दा हौ ? त्यस कारणले हाँसेकी हौ ।’ सीताको यो किसिमको अभिव्यक्तिले रामसभामा ठूलो तरंग पैदा गर्यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने ‘त्यसो भए म अहिरावण र महिरावणको बध नगरी छोड्दिँन ।’ रामले यसो भन्दै प्रतिज्ञा गरे र युद्धको तयारी भयो । युद्ध प्रारम्भ भयो । दुबै पक्षको घमासानको युद्धमा राम समेत उनका भाइहरु मुर्छित भए । चारैतिर कोलाहल मच्चियो । त्यही मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरी सहश्र टाउके रावणहरुको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदा देखि नवमी नै परेको थियो । दशमीको दिन उनिहरुले विजय उत्सव मनाए । यस्तै खालका थुप्रै कथा तथा आख्यानहरु बाट प्रस्ट हुन्छ कि विजया दशमी नवदुर्गाको ध्यान,उपासना र पूजा आदिमा आधारित छ र असत्यमाथी सत्यको विजय भएको प्रतीकको रुपमा दशैं पर्व प्रत्येक वर्ष भव्यताका साथ मान्ने प्रचलन निरन्तर पुस्तान्तरण हुँदै गइरहेको पाइएको छ । नवरात्रमा दुर्गा भगवतीको विभिन्न स्वरुपको पूजाआराधना गर्ने गरिन्छ । यस अवधिको पहिलो दिन माता शैलपुत्री देवीको नाममा,दोस्रो दिन ब्रह्माचारीण्ी,तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कूष्माण्डा,पाँचौं दिन स्कन्दमाता,छैंटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीका नाममा भव्यरुपमा पूजाआजा गर्ने गरिन्छ । नवरात्रीको यस समय अवधिमा माता नवदु्र्गाको पूजाआरधनाको माध्यमबाट नवग्रह शान्ति पनि हुन्छ भन्ने जनविश्वास रहेको छ ।
जोरायलमा बडादशैं कहाँ कसरी मनाइन्छ ?
डोटी जिल्लाको जोरायल प्राकृतिक रुपमा सुन्दर ठाउँ हो । यहाँ बहुजातीय, बहुभाषिक समुदायको वसोवास रहेको छ । जोरायल गाउँ पालिकाका बिभिन्न वडाहरु बिभिन्न चाड पर्ब तथा मेलाको लागि प्रसिद्ध रहेका छन । दशैं जोरायलवासीले पनि महत्वका साथ मनाउने गर्दछन । जोरायलका बिभिन्न स्थानमा बडा दशैंको दिन मेला लाग्ने गर्दछ ।
जोरायल गाउँ पालिकाको वडा नं.१ को खार गाउँमा सामुहिक रुपमा प्रत्येक तेस्रो बर्ष गाउँको बिचमा रहेको मौलामा नवमीका दिन राँगाको बलि दिने गरिन्छ । साथै सबैले घरघरमा बोका सहिको पञ्चवली दिएर दशैं मनाउने चलन रहेको त्यहाँका बयोबृद्ध समाजसेवी चन्द्रप्रकाश मल्ल बताउनुहुन्छ ।
त्यसै गरि वडा नं. २ को बुडर बजार नजिककैको ब्यारेकमा पनि चतुर्दशीको दिन राँगाको सामूहिक बलि तथा आफ्नो क्षमता अनुसार घरघरमा बोकाको बलि दिएर दशैं मनाउने प्रचलन रहेको छ । वडा नं.३ को उपरकोटमा जोशी, मल्ल तथा कफलानीका सार्की समुदायले सामूहिक रुपमा एक बर्ष विराएर राँगाको बलि चढाएर दशैं मनाउने चलन रहेको छ भने अधिकाँश गाउँबस्तीमा प्रत्येक बर्ष घरघरमै गच्छेअनुसार बोकाको बलि दिने चलन रहेको छ ।
यसैगरि वडा नंं ४ को बगस्ती नजिकै खलङ्गा भन्ने स्थानमा हरेक तेश्रो बर्ष अस्टमीको दिन राँगाको बलि सहित पूजाआजा गरिँछ भने बिनोडामा रहेको घण्टेश्वरको मन्दिरमा र तलालमा रहेको महादेवको मन्दिरमा भने प्रत्येक बर्ष बलि विनानै दुर्गा माताको भव्य पूजाआजाका साथ दशैं मनाउने सिलँगीबागका प्रेमप्रकाश मडै बताउनु हुन्छ । जोरायल गाउँपालिकाको वडा नंं. ५ मा पनि बडा दशैं भव्यरुपमा मनाइन्छ । जनप्रिय आधारभूत आवासिय विद्यालय चौकीका प्रधानाध्यापक प्रेम बोगटीका अनुसार प्रत्येक बर्ष नवमीको दिन राँगा र बोकाहरु काटेर चौकीको टिका बोगटी रजवारको टिकाकोट स्थित नवदुर्गा भगवती अम्खरे माताको पूजा भव्यरुपमा गरिनुका साथै प्रत्येक ३।३ बर्षको अन्तरमा यसै चौकीमै नवमीको दिन यहाँका सार्की जातीका मानिसहरुले राँगाको बलि चढाएर माता दुर्गाको भव्यरुपमा पूजाआराधना गर्ने चलन रहेको छ । वडा नं.५ कै खतेडामा प्रत्येक बर्ष दशमीको दिन राँगाको बली चढाएर, त्यस्तै फलदामा त्यहाँका सार्की जातीका मानिसहरुले प्रत्येक ३।३ बर्षमा नवमीको दिन राँगाको बलि चढाएर र त्यहाँको ओल्कट्टे भन्ने स्थानका जोशी र पार्की थरका मानिसहरले पनि प्रत्येक ३।३ बर्षको अन्तरमा नवरात्रको चतुर्दशी तिथिमा राँगाकै बलि चढाएरै माता दुर्गाको पूजाआजा भव्यरुपमा गर्ने प्रचलन रहेको छ । जोरायल गाउँपालिकाकै सबै भन्दा ठूलो दशैं मेला लाग्ने वडा नं. ६ को निरौली हो । निरौलमिा परापूर्बकाल देखि दशैं मनाईदै आएको बुढापाकाहरु बताउछन ।
वडा नं. ६ का वडाअध्यक्ष श्री गणेशबहादुर बोहराका अनुसार यस वडामा रहेको निरौलीको दशैं घरमा प्रत्येक बर्ष दशमीकै दिन राँगा तथा बोकाको बली चढाएर भव्यरुपमा दशैं मेला लाग्ने गर्दछ । यस स्थानमा दशैं मनाउन तत्कालिन श्री ५ को सरकारबाट बार्षिकरुपमा रु.१२० अनुदान आउने गरेकोमा हाल संघीय संरचनामा देश गए पश्चात भने पालिकामा आफैंले खर्च व्यहोर्ने गरेको छ । यस बर्षपनि जोरायल गाउँपालिकाले रु.१ लाख ३० हजार रुपयाँै दशैं मेला व्यवस्थापनका लागि विनियोजन गरेको छ । वडा नं. ६ मा यो संगसंगै नवमीको दिन खतेनामा र दशमीको दिन गुनडमा भब्य दशैं मेला लाग्ने गर्दछ ।
बडादशैं यसरी मनाऔंं
ऐतिहासिक जनआन्दोलन भाग २ पश्चात संसदको अत्यधिक बहुमतद्वारा सबै धर्म र कानुनका अगाडी सबै धर्म समान हुन, राज्य संचालन तथा नीति निर्धारण गर्दा धर्मका नाममा हस्तक्षेप गर्न पाइदैन भन्ने सिद्धान्त अनुरुप २०६२ जेठ २ मा नेपाल जव धर्मनिरपेक्ष राष्ट्र घोषणा भयो । त्यही समय देखि देशमा सबै किसिमका धर्म, संस्कृति, मूल्यमान्यता, आर्दश र दर्शनहरुले समान महत्व पाएका छन्। हिन्दु, बौद्ध, मुस्लिम, ईसाइ, शिख, किराँत आदि जुनसुकै धर्मालम्बिका मानिसहरुले पनि स्वतन्त्रपूर्वक आ–आफ्नो धर्म मानेर शान्तीका साथ सभ्य ढंगबाट धर्म सहिष्णुता र सह अस्तित्वको वातावरणमा बाँच्न निकै सहज भएको छ । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक देशमा धर्म सापेक्षता अर्थपूर्ण नहुने कुराको समेत पुष्टि भएको छ । यति मात्रै नभै नेपालको संविधानबाट पनि यहाँका सबै किसिमका धर्म, संस्कृति, मूल्यमान्यता, आर्दश र दर्शनहरुले राम्रो सम्मान पाएको देखिन्छ । नेपालको भू–धरातलमा यस किसिमको विविधता भित्रको वास्तविकताको पहिचान आजको आवश्यकता हो भन्ने लाग्छ । सामान्यतया दशैं धार्मिक दृष्टिकोणले मान्ने गरेको देखिन्छ किन भने आजसम्म दशैं मनाउनेहरुले यसको धार्मिक पक्षलाई मात्रै महत्व दिएको देखिन्छ ।
समय परिबेश अनुसार हाम्रा धर्म परम्परा, चाडपर्बहरु मनाउने सन्दर्भमा समिक्षा गर्न जरुरी देखिएको छ । धर्म सँस्कृतिलाई निरन्तरता दिईएन भने पुस्तान्तरण हुन सक्दैन । तर त्यसका सकारात्मक पक्षलाई प्रचार प्रसार गर्ने र सुधार गर्ने पक्षलाई सुधार पनि गर्नु पर्छ । पछिल्लो समयमा दशैं भड्किलो रुपमा मनाउने गरिन्छ । आर्थिक श्रोत नभएपनि ऋण कर्जा झिकेर भएपनि बोका काट्ने, दशैंमा खर्चिलो खानपान गर्ने, महँगो सामान खरिद गर्ने अबश्यपनि राम्रो होईन । हामी दशैं लगायतका चाडपर्बलाई आफ्नो क्षमता अनुसार कम खर्चमा पनि भब्य रुपमा मनाउन सक्छौं । दशैंलाई खर्चिलो भड्किलो रुपमा मनाउने र त्यही दशैंको ऋण तिर्न मुग्लान जानु पर्ने स्थिती आउनु हुँदैन ।
दशैंमा दिईने बलीको वारेमा वन्द गरिनु पर्ने कुरामा बिगत लामो समय देखि बहस शुरु भईसकेको छ । बली दिएर दशैं मनाउने बिषयमा समिक्षा र बहस चलाउनु पर्दछ । बली प्रथालाई बन्द गराएर पूजाआजा गर्ने अन्य बिकल्पहरु प्नि खोजि गरिनु पर्दछ । कतिपय समुदायले बोका, राँगाको बलिको बिकल्पमा काँक्रो कुपिण्डो बली दिएर देवीलाई खुशी बनाएको उदाहरण पनि थुप्रै उदाहरणहरु रहेका छन । दशैंलाई मदिरामय बनाउने प्रबृत्तिलाई त्याग्नु पर्दछ । दशैंमा जुवातास मदिरालाई पूर्ण रुपमा बहिस्कार गरौं । दशैंमा हुने अप्रिय घट्नाहरुबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं । यस पालिको बडा दशैंमा सबैको निधारमा टिका होस्, कानमा जमारा होस्, परिवारमा खुशी छावस्, आसन्न निर्बाचनबाट चाँडै स्थायी सरकार बनोस, देशमा शान्ति र सुव्यवस्था कायम होस, बडा दशैंको सबैमा मांगलिक शुभकामना । हिंसा रहित दशैं मनाऊँ माता दुर्गाले सबैको कल्याण गरुन् ।
लेखक : घण्टेश्वर माध्यमिक विद्यालय,कुँडिकोट, जोरायल,डोटीका शिक्षक पदमा कार्यरत छन ।