लाहुरेलाई चाडवाड

“लाहुरेलाई चाडबाड नआएकै जाती
परिवारको सम्झनाले पोल्दो रहेछ छाती”
फेरी यो गीत सुनें, उसो त अक्सर मेरो मोवाईलमा यो गीत बजि नै रहन्छ । चाडबाड नजिकिंदै गर्दा मै जस्ता परदेशीहरुका मोवाईलमा पनि मध्यरातसम्म बज्दो हो यो गीत । गायक कर्ण दासको आवाजमा सजिएको यो गीत कर्णदास स्वयं सुन्दा हुन् कयौं पटक दोहोर्‍याएर । उनि पनि त हामी जस्तै मुग्लानी बने, एक होनाहार गायक देश छोडेर मुग्लान पस्छ भविश्य खोज्न भने मेरा बा आमा जस्ता साधारण परिवारका छोरा छोरी परदेशीनु के नौलो भयो र ?
जीवन गीत जस्तै पक्कै हुँदैन तर गीत जीवन जस्तै बनिदिन्छ अवस्था र सन्दर्भले । मेरी जीवन संगीनी हरेक फोनमा उदास सुस्केरा छोड्छिन् । हरेक टिकटकमा आजकाल उनको खुशी भन्दा वेदना भरिन्छ । भिडियो कल गर्नु अघि म आफ्ना लागि आफैं कामना गर्छु, मेरी प्रियाका आँखा नभिजुन् यस पटक ता कि मलाई उसलाई सम्झाउन सकस भओस् । मेरी प्रियाका जस्ता लाखौं आँखाहरु चाडबाडको बेला भिजेका छन् । घरदेश र परदेशको दुरी जस्तै हामी मुग्लानी युवाको खुसी र पिडाको दुरी कोसौं टाढा छ । खुशी उतै छोडेर हामी पीडाको समय बाँच्दछौं ।
सानी छोरी यो अमेरिका कति टाढा छ जान्दिन, कर्णदासको गीतको भाव पनि जान्दिन, उसको बाबा किन परदेशीयो यो जान्न उसलाई अझैं कयौं बर्ष लाग्नेछ । उसले त अरुका बाबा घर आउँदा आफ्नो बाबा पनि आउला कि भनेर बाटो हेर्न मात्र जानेकी छ । उसले बाबा दशैं आयो हजुर कहिले घर आउने ? भनेर सोध्दा मसंग जवाफ हुँदैन । सबै परदेशीको रेडिमेट जवाफले नै काम चलाउँछु, ‘चाँडै आउँछु छोरी’ । यो चाँडै आउने हुटहुटीमा हामी बुवाहरु बर्षौ देखी तड्पिएका छौं । जसरी हाम्रा बुवा आमा हामी मुग्लान भासिएका छोरा छोरीको यादमा छट्पटाएका छन् ।
बुढेसकालको साहारा भनेर कत्रो जतन र रहरले हुर्काएका छोराछोरी कहाँ हो कहाँको देशमा पसिना बगाउँछन् । म आफैंलाई उदाहरणमा राख्दा म मेरा बा आमाको कान्छो छोरो । कान्छो छोरो काखको बच्चा भन्ने चलन नै छ, उ संधै सानै देखिन्छ बा आमाको नजरमा । तर म स्वयं जिम्मेबारीको विशाल पहाड काँधमा बोकेर हिँडिरहेछु । भावनात्मक सम्बन्धको मुल्य नै कहाँ रह्यो र यो भौतिकबादको दुनियाँमा । समाज अनुकुल चल्नु पर्ने जमानाले नयाँ पुस्तामा पनि परदेशीने सपना जन्मायो । स्कुल पढ्दै गरेका बच्चाहरु देश छोड्ने सपना सजाउँछन् । जुन जनता आफ्नो देशमा सन्तान र आफ्नो भविश्य नदेखेर विदेशसंग प्रभावित छन् त्यो देश कुन अवस्थामा छ विदेशी सरकारले सहजै अनुमान लगाउन सक्ने कुरा भयो ।

llc

म त अमेरिका छु, डलरको भाउमा मेरो श्रम बिक्छ । सटनीका हिसावले नेपालमा रहेको परिवारका सिमित चाहना पुरा नै हुन्छ । सञ्चारकर्ममा सन्तुष्ट हुन पुग्ने नाम र काम छ । तर म सोच्दछु सामान्य कमाईमा आगोको लप्का जस्तो मौसम बोकेको खाडी मुलुकका जाने हाम्रा दाजु भाई दिदी बहिनीको हृदयको घाउ कसरी देखाउने ? कसले देख्ने ? त्यती तातो वायुमण्डल नै काफी थिएन र फेरी पनि तातो आईरनले डामिन्छन् हाम्रा कयौै छोरीहरुलाई । देश गरिव हुनु साँच्चै जनता निहिर हुनु त रहेछ । आफ्नै देशले त जतन गर्न नसकेका छोराछोरी अर्काको भूमिलाई के दया माया ?
यस्तो अवस्थामा पनि हामी निस्ठुर हुन सक्दैनौं आफ्नो देशप्रति । किनकी देश भन्ने अस्तित्वसंग यहाँको भाषा, धर्म, संस्कृति लगायतका यावत पक्षले सरोकार राखि नै रहेको हुन्छ । एउटा घरको एउटा सन्तान पर देखिन्छ बाँकी त देशमा नै हुन्छन् सबै कुरा, सबै जना ।
त्यसैले पनि चाडबाड आउँदा प्रत्यक्ष रुपमा हामीहरु सम्बन्धको साथ चाहन्छौं । सन्तोष परम् सुखम् भनेर जति नै कण्ठ गरेपनि सन्तोष हुन समेत अवस्थाले दिंदैन । असन्तोषका अनेक अनेक रुपले न हामीलाई सुख दिन सक्यो न परिवारलाई । कर्णदासको गीतमा लाहुरे शब्दलाई संवोधन गरिएको भए पनि ति सैन्य सेनाका लाहुरे मात्र होईनन् । ति हामीजस्तै लाहुरे हुन् जो लाहौर जस्ता विभिन्न देशमा छरिएका छौं, चाडबाडमा आँसु बगाएका छौं । बाध्यताबस आफ्ना साना छोराछोरीसंग नै झुट बोलिरहेछौं कि म चाँडै आउने छु । यो ढिला र चाँडो के हो जानेर पनि हामी झुटो बनिदिन्छौं यो जति मजबुरी के हुन सक्ला ?
नेपाल जस्तो चाडबाड, मठ मन्दिर र संस्कारले भरिएको देशमा जन्मिएर पनि हामी यहि संस्कार र संस्कृतिबाट पर धकेलिनु आफैंमा नमिठो क्षण हो । भौगोलिक रुपमा जति नै टाढा भएपनि जन्मभूमिको आफ्नोपनले हामीलाई आफु हुनुको महसुस गराएकै हुन्छ । त्यसैले पनि हामी प्रवासमा पनि चाडपर्व मनाउन कोशिस गर्छौं । अन्तराष्ट्रिय पाञ्चांग समितीको क्यालेन्डरका आधारमा दशैं तिहार टिका साईतमा नै लगाउने प्रयास हाम्रो रहन्छ । चाडपर्व मय बन्दछन् नेपाली समाज ता की हाम्रो सन्ततीले पनि चाडपर्व के हो र किन भन्ने प्रश्नको जवाफ पहिल्याउन सकुन् । यसरी हामी परिवारको सम्झनाले जलेको छाती बिचबाटै पनि सँस्कार र संस्कृतिको न्यानोपन महसुस गर्दछौं ।

लेखक रेग्मी, रिपोर्टस क्लब अमेरिकाका अध्यक्ष समेत हुन्।

Leave A Reply

Your email address will not be published.