
कबिराम डाँगी
गैरा, जोरायल
आज नबरात्रको दशौं दिन अर्थात बडा दशैं । बडा दशैं हिन्दु नेपालीहरुको महान पर्ब पनि हो । बडादशैंमा मान्यजनहरुबाट टिका ग्रहण गर्ने, आशिर्वाद लिने तथा परिवारका सदस्यहरु ईष्टमित्रहरु सँगै बसेर मिठोमसिनो खाना खाने तथा सुख दु:खका कुरा साटासाट पनि गर्ने गरिन्छ । त्यसैले यो पर्बलाई बिशेष अबसरका रुपमा लिने गरिन्छ ।
बडा दशैंलाई डोटीको जोरायल गाउँ पालिकामा बिशेष रुपमा मनाउने गरिन्छ । वडा दशैंको दिन मान्यजनहरुबाट टिका ग्रहण गरिसकेपछि बिभिन्न स्थानमा हुने दशैं मेलामा गएर भगवतीको मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने गर्दछन । वडा दशैंको दिन आज वडा नं. ४ को विनोडा, वडा नं. ५ गडसेराको खतेडा, वडा नं. ६ को निरौली र गुनडमा दशैं मेला हुने बताईएको छ ।
यस बर्षको वडा दशैंको अवसरमा आज जोरायल गाउँ पालिकाको वडा नं. ४ बिनोडामा दशैं मेला लाग्ने सिलँगीवागका प्रेमप्रकाश मडैले बताएका छन । विनोडाको दशैं मेलामा स्थानीय घण्टेश्वरको मन्दिरमा बलि विना पूजाआजा गर्ने र दर्शन गर्ने परम्परा रहेको छ ।
यसैगरि वडा नंं ५ गडसेरा खतेडामा पनि आज दशैं मेला हुने भएको छ । खतेडामा हरेक बर्ष बिजया दशमीको दिन स्थानीय भगवती मन्दिरमा राँगाको बली चढाएर पूजाआजा गर्ने गरिन्छ । खतेडाको दशैं मेलामा वडा नंं ५ का बिभिन्न स्थान तथा छिमेकी गाउँ पालिकाका मानिसहरु पनि पूजाआजा तथा दर्शनको लागि आउने गर्दछ ।
जोरायल गाउँ पालिकाको वडा नं. ६ को निरौली र गुनडमा पनि आज दशैं मेला लाग्दैछ । निरौलीमा हरेक बर्ष हुने दशैं मेला जोरायल गाउँपालिका भरिको ठूलो मेला हो । निरौलीको दशैं घर (भगवतीको मन्दिर) मा हरेक बर्ष राँगाको बलि चढाएर भगवतीको पूजाआजा तथा दर्शन गर्ने गरिन्छ । राँगाको बलि तथा भगवतीको पूजाआजा सकेपछि रातभर मेला लाग्ने गर्दछ । रातभर डेउडा खेल्ने। नाचगान गर्ने गरिन्छ । निरौलीको दशैं मनाउन तत्कालिन श्री ५ को सरकारबाट बार्षिक रुपमा रु. १२० अनुदान आउने गरेकोमा हाल गाउँ पालिकाले दशैं मेला ब्यवस्थापन खर्च उपलब्ध गराउदै आएको छ । यस बर्षको दशैं मेला ब्यवस्थापनको लागि जोरायल गाउँ पालिकाले रु.१ लाख ३० हजार र बिनियोजन गरेको वडा नं. ६ का वडाध्यक्ष गणेशबहादुर बोहराले बताउनु भयो ।निरौलीको दशैंलाई शान्तपूर्बक सम्पन्न गर्नको लागि मेला अबधिभर मदिराको बिक्रि बितरण तथा सेवनलाई पूर्ण रुपमा निषेध गर्नुका साथै स्थानीय समाजसेवी दिलिप बोहराको सँयोजकत्वमा एक व्यवस्थापन समिति पनि गठन गरिएको छ ।
यसै गरि निरौलीको गुनडमा पनि राँगाको बलि दिएर भगवतीको पूजाआजा गर्ने गरिन्छ । दशैं मेला दिनभर तथा रातभर लाग्ने गर्दछ । दशैं मेलामा स्थानीय बासिन्दाहरुले बिभिन्न फलफूल तथा कृषि उपजहरु पनि बिक्रि बितरणको लागि ल्याउने गर्दछन ।
निरौली तथा गुनडको दशैं मेलामा जोरायल गाउँ पालिकाका बिभिन्न वडा तथा छिमेकी बडिकेदार गाउँ पालिकाका मानिसहरु पनि मेला हेर्न तथा भगवतीको दर्शन गर्न आउने गर्दछन ।
फोटो : फाईल फोटो तथा भिडियो युटुब बाट साभार गरिएको हो ।