
कुराकानीले विचारको जन्म हुन्छ । भाषा विचारहरूको आदान प्रदान गर्ने महत्त्वपूर्ण माध्यम हो । भाषा शाब्दिक र सांकेतिक दुवै हुन्छन् । मानिसले पनि सांकेतिक र शाब्दिक दुवै भाषा प्रयोग गरेर कुराकानी वा अन्तर्क्रिया गर्छन् । बालबालिकाले जन्मदेखि शारीरिक भाषा वा हाउभाउबाट आफ्ना इच्छा वा समस्या व्यक्त गर्ने गर्छन् ।
अभिभावक तथा हेरालुले शारीरिक र शाब्दिक दुवै भाषाबाट अन्तर्क्रिया गर्नुपर्छ, जसले गर्दा बालबालिकाले सुन्न, बुझ्न, छिट्टै बोल्न र ठूलासँग सम्बन्ध विकास गर्न सक्छन् ।
बालबालिकाले प्रारम्भिक उमेरमा धेरै भाषा सिक्न सक्ने विभिन्न अनुसन्धानले देखाएको छ तर यसमध्ये गर्भावस्थादेखि सुनेको भाषामा अन्तर्क्रिया गर्दा उनीहरूको प्रारम्भिक सिकाइ प्रभावकारी हुने र आफ्नो भाषासमेत दोस्राे पुस्तामा हस्तान्तरण हुन्छ । बालबालिकासँग उनीहरूको विकासात्मक अवस्थाअनुरूप कुराकानी गर्नुपर्छ ।
१. गर्भावस्थामा
बालबालिकाले गर्भमा रहँदादेखि नै सुन्न सक्ने तथ्य नेपाली समाजका पौराणिक दस्तावेजहरूमा पाइन्छ । साथै, गर्भवतीको वरिपरि राम्रो कुरा गर्ने, बौद्धिक संवादमा सहभागी गराउने चलन पनि विद्यमान छ, जुन गर्भभित्रको शिशुले सुन्न सक्छ भन्ने प्रमाण हो ।
अहिले पनि केही सचेत गर्भवतीले गीत संगीत सुन्दा शिशुले प्रतिक्रिया दिने गर्दछन् भन्ने अनुभवहरू सुनाउने गरेको पाइन्छ । बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गर्न गर्भावस्थामा महिलाले सकारात्मक कुराकानीमा सहभागी हुने, विभिन्न गीत संगीत सुन्ने, आफ्नो पेटमा हात राखेर शिशुलाई बोलाउने, आफूलाई भोकलाग्दा ‘तिमीलाई पनि भोक लाग्यो ?’ भनेर बच्चाको बुवाले पनि गर्भमा स्पर्श गरेर ‘मेरो बाबु/नानु के छ?’, आज दिनभरि के-के सुन्यौ ? जस्ता कुराहरू गर्ने गर्नुपर्छ ।
आमाले पनि प्राकृतिक आवाजहरू सुन्ने र मनमनै ‘ऊ.. हेर त कस्तो मीठो स्वरमा चरा कराएको, आहा ! कति राम्रो कल…कल..नदी बगेको’ भन्दै प्राकृतिक आवाजहरू सुन्ने र गर्भमा रहेको शिशुसँग पनि अन्तर्क्रिया गर्ने गर्नुपर्छ ।
२. जन्मपश्चात्
बालबालिकाले जन्मपश्चात् आवाज आएतिर हेर्ने, आँखा जुधाउनेजस्ता शारीरिक प्रतिक्रिया दिने गर्दछन् । यो बेला उनीहरूले आमाबुबा वा हेरालुको अनुहारको गहिरो अवलोकन गर्छन् र हाउभाउमार्फत प्रतिक्रिया दिन्छन् । त्यसैले अभिभावकले शिशुलाई काखमा राखेर, आँखामा आँखा जुधाएर कुरा गर्नुपर्छ ।
शिशुसँग कुरा गर्दा नरम बोली, सानो स्वर र लेग्रो तानेर बोल्नुपर्छ । बालबालिकाको भाषा, जस्तै भातलाई माम, बिरालोलाई म्याउँ, दूधलाई बुबु भन्दा फरक पर्दैन । तर, तोते बोली भने बोल्नु हुँदैन । सुरुमा शिशुको जिब्रोका मांसपेशीहरू विकसित हुने क्रममा तोते बोली बोल्छन् तर अभिभावक वा हेरालुले स्पष्ट बोलेपछि मात्र उनीहरू पनि स्पष्ट बोल्न थाल्छन् ।
३. स्तनपान गराउँदा
सबै शिशुले भोकाएको प्रतिक्रिया दिन्छन्, जुन स्तनपान गराउने आमाले बुझेर प्रतिक्रिया दिनुपर्छ । जस्तै, ‘के भयो ? मेरो बाबुलाई भोक लाग्यो हो ? हेर त कस्तो ठस्, ठस् गरेको, ल अब बुबु खाई हाल्ने हस् !’ जस्ता कुराहरू गर्दै काखमा राख्नुपर्छ ।
पहिले नै हात धोएर स्तन सफा गरेर बस्नुपर्छ । स्तनपान गराउँदा पनि आँखा जुधाएर हातले स्पर्स गरेर ‘ल.. ल.. खाऊ ..खाऊ..’ गर्दै बोलीमा पनि उतार-चढाव गर्दै, जिस्क्याउँदै, आँखा जुधाएर खुवाउनुपर्छ । शिशुले आमा वा हेरालुको अनुहार हेरेर मनोरञ्जन गर्छ भने स्पर्शबाट आफूलाई सुरक्षित महसुस गर्छ ।
४. घुम्न जाँदा
करिब ५ देखि ६ महिनामा पास्नीपछि घुम्न लैजाने चलन हाम्रो समाजमा छ, जुन वैज्ञानिक दृष्टिले पनि महत्त्वपूर्ण छ । उनीहरूलाई एक/दुईपटक घुम्न लगेपछि उतै जाने इच्छाले, आँखाले पहिले गएकोतिर हेरेर, शरीर उतैतिर तन्काएर, कराएर र अन्त्यमा रोएर आफ्नो रहर व्यक्त गर्छन् ।
हेरालुले शिशुको प्रतिक्रिया अवलोकन गरेर पहिलो वा दोस्राे संकेतमा वा रूटिनअनुसार घुमाउनु उपयुक्त हुन्छ । घुम्न जाँदा पनि उसलाई ‘बाबालाई घुम्न मन लाग्यो कि के हो, हो ? जाने हो ?,’ भनेर सोध्ने, मुस्कुराउने ‘ल म पनि तयार हुन्छु है’ भन्दै कपाल, लुगा मिलाएझैँ गर्नुपर्छ । शिशुले पनि पर्खेजस्तो ठस्ठस् गर्न रोकेजस्ताे प्रतिक्रिया जनाउँछ, जुन तपाईंलाई विश्वास गरेर पर्खेको हो ।
यसैगरी, उनीहरूको आवश्यकता बुझेर प्रतिक्रिया दिँदै विश्वासको सम्बन्ध बढाउँदै लैजानुपर्छ । बाहिर जाँदा केही वस्तुलाई हेरेको छ भने त्यो वस्तुलाई बुझाइदिनुपर्छ । जस्तै, चरा हेरेको छ भने ‘ऊ चरी हेर त चरी.. चिर्र…चिर्र.. गर्छ .. के खाने दाना खाने हो ?’ सोधेझैँ गर्नुपर्छ अनि ‘ऊ भुर्रभुर्र उड्यो हेर त’ जस्ता परिचय र हाउभाउ गर्दै अनुहारमा पनि प्रतिविम्बित हुनेगरी वस्तुको परिचय गराउनुपर्छ । जनावर देखे जनावरको, बोटबिरुवा, गाडी जे देखे पनि सो वस्तुको नाम र गुणहरूको परिचय, उनीहरूले बुझ्नेगरी गराउनुपर्छ ।
५. प्रश्नोत्तर
धेरै प्रश्नहरू गर्ने बालबालिकाले धेरै जान्न र बुझ्न खोजेका हुन्छन् । त्यसैले यस्ता प्रश्नको सकारात्मक र सही उत्तर दिने र उनीहरूले बुझ्न खोजेका कुराहरू राम्ररी बुझाइदिने गर्नुपर्छ । उनीहरूले सोधीखोजी गर्दा सोध्नासाथै पनि जवाफ दिनुपर्छ । तर अँध्यारो, तारा तथा बादल, पानीका बारेमा सोधेका छन् भने राति तारा देखिने समयमा पनि तारा देखाएर, पानी परेको बेलामा पानी बादलका बारेमा पहिले नै बताए पनि फेरि बुझाइदिनुपर्छ ।
यसरी जस्तो वातावरणका प्रश्नहरू छन्, सोही वातावरण र अवस्थामा बालबालिकालाई बुझाउँदा सिकाइ प्रभावकारी हुन्छ ।
बालबालिकाले बोल्न थालेदेखि नै प्रश्नहरूको सँगालो बोकेका हुन्छन्, किनकि उनीहरूलाई यो संसारका सम्पूर्ण कुराहरू मस्तिष्कमा राख्नु छ । त्यसैले अभिभावकले झर्को नमानी उनीहरूको जिज्ञासाको सही उत्तर दिनुपर्छ ।
आफूले बताइसकेका कुराहरू बालबालिकाको बुझाइ के रहेछ भनेर फेरि उनीहरूलाई प्रतिप्रश्न गर्न पनि सक्नुहुन्छ । तर, उनीहरूले दिने उत्तर सबै सही नहुन सक्छन्, बताउने बेलामा उनीहरूले गलत बताए पनि उनीहरूलाई बोल्न उत्प्रेरित गर्नुपर्छ । केही कुराहरू सच्याउनुपर्छ तर धेरै सच्याउँदा पनि उनीहरूले बोल्नलाई रोक्ने कोसिस गर्न सक्छन् । अभिभावक यसमा सचेत हुनुपर्छ र कुराकानीलाई निरन्तर बढाउँदै लानुपर्छ ।
६. परिवारसँग कुराकानी
अभिभावकले साँझमा सबै जना दिनभरिको क्रियाकलाप पुनरावलोकन गर्ने वा कुराकानी गर्ने समय निर्धारण गर्नुपर्छ । परिवारका सदस्यहरू सबै वरिपरि बसेर कुराकानी गर्दा, पहिले अभिभावक आफैँले आफ्नो दिनभरिका घटनाहरू बताउनु पर्छ ।
राम्रो लागेको, नराम्रो लागेको, समस्या आएको, समाधान गरेका कुराहरू बताएपछि बालबालिकाले पनि आफ्नो दिनभरिका अनुभवहरू बताउनेछन् । बालबालिकाले कुरा गर्न खोज्दा अभिभावक वा हेरालुले आँखा जुधाएर, टाउको हल्लाएर, मुस्कुराएर, कुराकानीमा सकारात्मक उत्प्रेरणा दिनुपर्छ ।
यसरी परिवारसँगको कुराकानीले गर्दा आफ्ना समस्याहरू बताउने, समस्या परेका र समाधान गरेका घटनाहरूमा परिवारका सदस्यले दिने मार्गनिर्देशन र स्याबासीले उनीहरूमा आत्मविश्वास बढ्छ ।
७. साथीहरूसँग अन्तर्क्रिया
बालबालिकाले आफूसरहका बालबालिकालाई हेर्ने, खेल्न मन गर्ने गर्छन् । आफ्नै उमेरका साथी भेट्दा खेल्ने, बोल्ने, हिँड्ने तरिका आफ्नोजस्तै देख्दा उनीहरू आकर्षक तरिकाबाट अवलोकन गर्ने, नक्कल गर्ने, सहकार्यको योजना बनाउने, खेलौना सटासाट गर्ने, हाँसो ठट्टा गर्ने गर्छन् । जसका कारण प्रश्नोत्तर गर्ने, बालबालिकाले कुराकानी गर्ने विचार बनाउने, समयसापेक्ष विचार व्यक्त गर्नेजस्ता बौद्धिक कार्यहरू गर्छन् ।
अन्तर्क्रियाको महत्त्व र सिकाइ
अन्तर्क्रिया वा कुराकानीले विचारको सिर्जना गर्छ, मस्तिष्कमा पैदा हुने विभिन्न विचारमध्ये कुनचाहिँ विचार व्यक्त गर्न उपयुक्त छ भन्ने छनोट गर्न बालबालिकाले सिक्छन् ।
आफूले राखेका विचारहरूको साथी तथा अभिभावकले दिने प्रतिक्रियाअनुरूप अर्को विचारले सच्याउनेजस्ता स्वःअन्तर्क्रियाहरूले बौद्धिक क्षमता तीव्र हुन्छ ।
सधैँ परिवारसँग कुराकानी गर्नाले आफ्ना समस्याहरू बताउने र परिवारका सदस्यले दिने स्याबासी, मार्गनिर्देशनले बालबालिकामा आत्मविश्वास र सामाजिकीकरण अभिवृद्धि हुन्छ ।
परिवारमा स्नेहपूर्ण वातावरण र सहयोग लिनेदिने परम्पराकाे विकास हुन्छ ।
किशोरावस्थामा शारीरिक तथा मनोवैज्ञानिक समस्याहरू पनि अभिभावकलाई बताउने बानीले सही मार्गदर्शन तथा निर्णय लिने क्षमता अभिवृद्धि हुन्छ ।
बालबालिकालाई घरबाहिर हुन सक्ने दुर्व्यवहार वा आपत्/कुलतमा फस्न सक्ने सम्भावना न्यून गराउँछ ।
भाषा नै यस्तो माध्यम तथा सीप हो, जसले सामाजिक, बौद्धिक, सांस्कृतिक, मनोरञ्जनात्मक क्रियाकलाप र विचार साटासाट गर्न सकिन्छ ।
(अभिभावकको शिक्षाका लागि उमा घिमिरेले लेखेको यो सामग्री हामीले युनिसेफ नेपालको वेबसाइटबाट साभार गरेका हौँ ।)